मन्दिरा अधिकारी
देशका जनताले आफूहरुमाथि अन्याय भएकाे महसुस भएपछि न्यायकाे मागसहित सरकारलाई दबाब दिने थलाेजस्तै बनेकाे माइतीघर मण्डलामा दिनहुँजस्ताे आन्दाेलन, धर्ना र अनसनका कार्यक्रम भइरहन्छन्। माइतीघरमा एक–दुई टाेली मात्रै आन्दाेलनमा उत्रिएका हुँदैनन्, एक दिनमा कम्तीमा आधा दर्जन बढी आन्दाेलनका कार्यक्रमहरु भइरहेका छन्।
यतिबेला माइतीघरमा देशभरका सहकारी पीडितदेखि प्रहरीले नै चलाएकाे गाेली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैशीसम्मले धर्ना दिइरहेका छन्। यहाँ आन्दाेलनमा उत्रिएका अधिकांश समूहमा दर्जनाैँ मानिसहरु सामेल हुन्छन्, धर्ना बसिरहेका कतिपयलाई नेतादेखि सामाजिक अभियान्ता र युवाहरुले साथ दिइरहेका हुन्छन्। तर, यही माइतीघरकाे एउटा छेउमा टुप्लुक्क बसेर गाेरखाका तेलबहादुर घलेले ३८ दिनदेखि धर्ना दिइरहेका छन्।
उमेरले ६५ वर्ष काटिसकेका घलेले याे उमेरमा घरमै बसेर आरामकाे जीवन बिताउनुपर्ने हाे तर पाँच वर्षअघि (२०७५ मा) सेनाले बाटाे खन्ने क्रममा उछिट्टिएकाे पहाडकाे ढुङ्गाले आफ्नाे गेस्ट हाउस ध्वस्त भएपछि उनलाई याे उमेरमा माइतीघरकाे चिसाे सडकमा बस्नुपर्ने अवस्था आएकाे हाे।
घलेले २०७१ देखि धार्जे गाउँपालिका– ९ दोमानमा गेस्ट हाउस सञ्चालन गर्दै आइरहेका थिए। उक्त गेस्ट हाउस नेपाली सेनाले गाेरखाकाे आरुघाट र धादिङको बेनीघाट –लार्के भञ्जाङ जोड्ने सडक बनाउने क्रममा पहाडबाट उछिट्टिएकाे ढुङ्गाले लागेर भत्किएकाे थियाे। सेनाले घलेलाई १४ लाख क्षतिपूर्ति दिएकाे थियाे। तर, आफूले ४५ लाख खर्चिएकाे गेस्ट हाउसलाई सेनाले १४ लाख मात्रै दिएर अन्याय गरेकाे भन्दै घलेले माइतीघरमा धर्ना दिइरहेका छन्। ‘होटल बनाउँदा ४५ लाख खर्च भएको थियो। सेनाले बाटो बनाउँदा ढुङ्गाले लागेर सबै ध्वस्त बनायो। सेनाले १४ लाख मात्र दियो,’ उनले भने, ‘क्षतिबापतको पूरै रकम पाइनँ। त्यसैले माइतीघर आउन बाध्य भएँ।’
उनले सेनाले ४५ लाख नै दिने भनेपनि अहिलेसम्म नदिएकाे, त्यसपछि क्षतिपूर्तिकाे लागि कार्यालय धाउँदा धाउँदा थाकेपछि अन्तिम विकल्पका ठानेर माइतीघरमा धर्ना बसेकाे बताए।
०००
गोरखाको आरुघाट र धादिङको बेनीघाट–लार्के भञ्जाङ जोड्ने सडक बनाउने जिम्मा नेपाली सेनाले लिएको थियो। मनास्लु हिमाल जाने बाटो भएकाले सडकको काम तीव्र गतिमा चलिरहेकाे थियाे। काम गरिरहको ठाउँमा हेलिकप्टर बस्न नमिल्ने भएपछि सेनाले त्यस ठाउँको काम छाडेर बूढीगण्डकी नदी पारीपट्टिबाट काम सुरु गर्यो।
घलेको होटल बूढीगण्डकी नदी वारि धाँचेस्थित दोमानमा थियो। मनास्लु हिमाल जाने बाटोमै होटल भएकाले व्यापार राम्रै थियो। २०७५ मा सेनाले बूढीगण्डकी अगाडिको पहाड फोरेर बाटो बनाउँदा होटलमा क्षति पुग्यो। त्यसपछि घलेकाे व्यापार ठप्प भयाे। सिजनको समय भएकाले घलले सेनालाई केही समय पहाड नफोर्ने आग्रह पनि गरेका थिए। तर, सेनाले एकदिन पनि ढिलाइ गर्न नहुने बताउँदै बूढीगण्डकी अगाडिको पहाड फोर्न थाल्यो। सेनाले विस्फाेटक पदार्थ (बम) प्रयाेग गरेर पहाड फाेर्याे। त्यही क्रममा उछिट्टिएकाे ढुङ्गाले घलेकाे गेस्ट हाउसमा क्षति पुग्याे।
घलेले पहिलो पटक पहाड फोर्दा ढुङगाले लागेर ध्वस्त बनाएको होटललाई मर्मत गरेर पुनः सञ्चालन गरेका थिए। सेनाले फेरि बम पड्कायो। त्यसबेला चाहिँ घलेकाे गेस्ट हाउस पूर्णरुपमा ध्वस्त भयाे। मासिक ८० हजार तिरेर गेस्ट हाउस सञ्चालन गर्दै आइरहेका घलेले गेस्ट हाउस ध्वस्त भएपछि आफू घर न घाटकाे भएकाे गुनासाे गरे।
गेस्ट हाउसमा क्षति पुगेपछि घलेले सेनासँग क्षतिपूर्तिमा माग गरेका थिए। सेनाले तीन महिनाभित्र काम सक्ने र त्यसपछि मात्रै दिने वचन दियाे। काम चलिरहेकाे बेला सेनालाई किन घाेचिरहने भन्ने साेचेर घलेले पनि धैर्य गरिरहेका थिए। तर, त्यही क्रममा बाटोको नेतृत्व गरिरहेका तत्कालिन मेजर निशान पण्डितले सडक बनाउने काममा भ्रष्टाचार गरेकाे सुइँकाे पाए। त्यसपछि भने घले चुप बस्न सकेनन्, क्षतिपूर्ति मागकाे लागि कार्यालय नै धाउन थाले। ‘मेजरले भ्रष्टाचार गरेको भन्ने कुरा सुनेपछि क्षतिपूर्ति बापतको रकम माग्न क्याम्प गएँ। त्यहाँ पुग्दा त जर्नेल नै आएर मेजरलाई लगेको थाहा पाएँ। अनि, जङ्गी अड्डा बुझ्न जाँदा मेजर पण्डित त नजरबन्दमा परिसकेका रहिछन्,’ घलेले भने।
मेजर नजरबन्दमा परेपछि तीन महिनामा काम सकेर क्षतिपूर्ति दिने वचन दिएकाे सेनाले ६ महिनासम्म पनि वास्ता गरेन। त्यसपछि जिल्ला प्रशासनमा पनि पुगेर न्यायकाे याचना गरे। पत्रकारलाई कुरा सुनाए। पत्रकारहरुले पनि डर मानेर घलेकाे गुनासाे स्पष्ट तरिकाले बाहिर ल्याउन सकेनन्। यद्यपि, पत्रिकामा समाचार प्रकाशित भएपछि नयाँ मेजरले उल्टै धम्क्याएकाे घलेले बताए। उनले भने, ‘पत्रिकामा समाचार प्रकाशित भएपछि सेनाले समाचार किन छापाएकाे भनेर गाली गरेर ज्यानलाई समेत राम्रो नहुने भन्दै धम्की दिए।’
पत्रिकामा समाचार आएपछि नयाँ मेजरले आफूमाथि ज्यादती गरेकाे घलेले गुनासाे गरे। ‘सेनाको नयाँ मेजरले पैसा लिन त बोलाए। पैसा दिने भए लिनु नलिए राम्राे हुने छैन भने धम्काए पनि। उनले गाेरखामा पैसा लिन बाेलाएका थिए। तर, काठमाडाैँमा बस्छु, बिरामी भएकाे कारण जान सकिनँ, बैंक खाता पठाएँ। तर, पछि बानियाँटार (काठमाडाैँकै)काे कुनामा लगेर पैसा लिएकाे भनी सही (हस्ताक्षर) गर्न लगाए। सही नगरे मार्छन् भन्ने डरले सही गरे,’ घलेले २०७८ असार १९ गतेकाे कुरा सुनाए। सेनाले पैसा लिएकाे भनी सही गरायाे तर पैसा दिएन।
घलेले अहिले गेस्ट हाउस सञ्चालनकाे लागि लिएकाे ऋृणकाे मासिक ५२ त ब्याज नै तिर्ने गरेकाे बताए। ब्याज तिर्ने उक्त रकम विदेशमा रहेका उनका सन्तानले पठाइदिन्छन्।
सेनाकै कारण घर न घाट भएर माइतीघरमा धर्ना दिएकाे घलेले सेनाले क्षतिपूर्तिबापतकाे रकम नदिएसम्म आन्दाेलन जारी राख्ने बताए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया