छोरी आरती साहको हत्या भएको भन्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ बाट माइतीपक्ष काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेको हप्तादिन बितिसक्यो। प्रहरीले आरतीको आत्महत्या गरेको भनेर रिपोर्ट बनाएपछि उक्त रिपोर्ट गलत रहेको भन्दै मृतक आरतीका आमा, बुबा, दाइ, बहिनीलगायतका आफन्तहरु धर्नामा बसेका हुन्।
आरतीको गत जेठ ७ गते मृत्यु भएको थियो। दाइजो नल्याएको निहुँमा आरतीका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवरले समेत निर्घात कुटपिट गरी हत्या गरेको माइती पक्षको भनाइ छ।
बुबा विनोदप्रसाद साहले धनुषामा न्याय नपाउँदा काठमाडौँ आउन बाध्य भएको बताए। ‘छोरीको घाउचोट हेर्ने हो भने आत्महत्या गरेको होइन भन्ने प्रष्टै हन्छ। तर, प्रहरीले आरतीको सासु–ससुराको कुरा सुनेर आत्महत्याको रिपोर्ट बनाएको छ,’ विनोदले भने, ‘छोरीले न्याय नपाएपछि हामी न्याय माग्न यहाँ आएका हौँ।’
छोरीको न्यायका लागि काठमाडौँ आएको भए पनि यहाँसमेत प्रहरीले आफूहरुलाई कुटपिट गरेको विनोदले बताए। उनले भने, ‘हामी जहाँ गए पनि अन्यायमा पर्यौँ। न्याय पाइएला भनेर धनुषादेखि काठमाडौँ आयौँ, तर हामीलाई प्रहरीले यहाँबाट पनि लखेट्न खोज्यो।’
विनोदले धनुषा प्रहरीले पनि आफूहरुलाई कुटपिट गरेको बताए। ‘छोरीको न्यायका लागि प्रहरीमा निवेदन दिँदा धनुषा प्रहरीले निवेदन दर्ता गर्न मनेन,’ उनले भने, ‘हामीले धेरै आग्रह गर्दा प्रहरीबाट कुटिनु पर्यो।’
आरतीको आत्महत्या गरेको नभएर हत्या भएको विनोद बताउँछन्। ‘बिहे भएको शुरु-शुरुमा त राम्रै थियो, तर ६ महिनापछि दाइजो नल्याएको भन्दै उसलाई मानसिक यातना दिन थाल्यो। पहिलो इन्गेटमेन्ट गर्दा केही पनि चाहिँदैनन् भनेको थियो,’ उनले भने, ‘तर बिहेपछि दाइजोमा जे-जे मागे हामीले सबै कुरा दियौँ। बाँकी भनेको मोटरसाइकल, मात्र थियो। र, त्यहीँ नदिएको भनेर तिनीहरुले मेरी छोरीलाई मारिदियो।’
आरतीले न्याय नपाएसम्म घर नफर्कने उनीहरु अडानमा छन्। ‘आरतीको हत्या गरेको आधार हुँदाहुँदै पनि हामीले न्याय पाएको छैन। अब जेसुकै होस्, बरु मर्न तयार छौँ। तर, न्याय नपाई फर्किएर जादैनौँ।’
आरतीकी बहिनी मनिषाले दिदीको स्वभाव आत्महत्या गर्ने खालको नरहेको बताइन्। उनले भनिन्, ‘मेरी दिदी आत्महत्या गर्ने मान्छे होइन। उसको हत्या भएको हो। जब उसको मृत्यु भयो ऊ दुई महिनाको गर्भवती थियो। आमा बन्न लागेको मान्छेले कहिलै आत्महत्या गर्छ ? पढेको, लेखेको, सबै कुरा बुझेको मान्छेले आत्महत्या गर्दैन।’
के थियो घटना ?
गत जेठ– ७ गते साँझ ६ः२० बजे विनाेदलाई उनको सम्धी (आरतीको ससुरा)ले फोन गर्दै आरती बेहोस भएको खबर सुनाए। साथमा जनकपुरको काव्या अस्पतालमा उपचार भइरहेको र अस्पताल आउन भने।
काव्या अस्पतालदेखि घर टाढा भएकाले विनाेदले हतारिँदै जनकपुरमा रहेकी कान्छी छोरी मनिषालाई अस्पताल जान भने र आफूहरु पनि टेम्पो चढेर अस्पताल गए।
मनिषा १० मिनेटमै अस्पताल पुगिन् र आरतीको अवस्थाबारे बुबालाई फोन गरेर बताइन्। हातखुट्टा चिसो थियो। ज्यान चलाउने सक्ने अवस्थामा थिएन। मनिषाले कयौँ पटक बोलाइन तर आरतीको कुनै हलचलसमेत भएन।
उनले तुरुन्तै डाक्टरलाई सोधिन्। डाक्टरले अस्पताल ल्याउनुअघि नै आरतीको मृत्यु भइसकेको बताए। केही समयपछि आरतीका बुबाआमा पनि अस्पताल पुगे। सँगै प्रहरी पनि पुग्यो र सोधपुछ गर्न थाल्यो। प्रहरीको प्रश्नमा आरतीका श्रीमान्, सासु-ससुराले झुन्डिएको अवस्थामा आरती फेला परेको बताए।
आरतीको घाँटीमा डोरी पासो लगाएको जस्तो घाउ थियो। साथमा शरीरका अन्य भागमा पनि घाउहरु थियो। आरतीका माइती पक्षले अन्य ठाउँमा भएको घाउ/चोटका आधारमा उनको आत्महत्या नभई हत्या गरेको शंका गर्यो। त्यसपछि माइतीपक्षले धनुषा प्रहरी कार्यालयमा कर्तव्य ज्यानको जाहेरी दिन खोजे।
पहिला त प्रहरीले उनीहरुको के, कसरी र कुन आधारमा कर्तव्य ज्यानको जाहेरी दिने र पोस्टमार्टमको रिर्पोट नआएसम्म जाहेरी दर्ता गर्न मानेन।
जेठ ८ गते पोस्टमार्टमको रिपोर्ट आयो। रिपोर्टमा आरती झुन्डिएको हुन सक्ने र गालामा भएको घाउको उल्लेख गरिएको थियो। तर, शरीरका अन्य चोटहरु भने उल्लेख भएनन्।
यही क्रममा माइतीपक्षले पुन: प्रहरीमा जाहेरी दर्ता गर्न गए र यसपटक पनि प्रहरीले उनीहरुको जाहेरी दर्ता गर्न मानेन। जाहेरी दर्ता गर्न नमानेपछि उनीहरुले दाहासंस्कार गर्न घाटमा लगिएको शव जिल्ला प्रहरी कार्यालय अगाडि राखेर बिहान बेलुका ८ बजेसम्म प्रर्दशन गरे।
तब मात्र प्रहरीले रातकाे ८बजे उनीहरुको उजुरी दर्ता गर्यो। आरतीको दाहसंस्कार भयो। त्यसलगतै प्रहरीले कर्तव्य ज्यान मुद्धामा ससुरा मदन मोहन साह र श्रीमान् मोतीबाबु साहलाई पक्राउ गर्यो। तर, खास कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन। माइती पक्षले अन्य पोष्टमार्टममा संलग्न डाक्टरलाई कारबाही गर्न माग गरेका छन्।
प्रहरीबाटै कुटपिट
आरतीको दाहसंस्कार गरिसकेपछि प्रहरीले जेठ ३२ गते कागज गर्न साह परिवारलाई प्रहरी चौकी बोलायो। कागज गर्न बोलाएपछि उनीहरु पुगे। तर, कागजमा पहिला नै लेखिसकेको रहेछ। कागजमा के छ उनीहरुलाई थाहा थिएन।
आफूहरुले भनेको कुरा कागजमा नभएपछि माइतीपक्षले कागजमा हस्ताक्षर गर्न मानेन्। अनि प्रहरीले हस्ताक्षर गर्न दबाब दिन थाल्यो। त्यसपछि मृतक आरतीकी बहिनी मनिषाले प्रहरीको व्यवहारको भिडियो बनाउन थालिन्।
त्यसपछि आफूलाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको घाउ देखाउँदै मनिषाले बताइन। एक दिन आफूलाई थुनेको पनि जानकारी दिइन। थुनेको भोलिपल्ट खुट्टा ढोगाउँदै जे भने पनि मान्ने सर्तमा कागज गरेर छाड्यो।
आरतीको न्यायका लागि प्रहरीमा गएकी मनिषाले उल्टै यातना दिएपछि उनीहरु अहिले काठमाडौंमा आएका छन्। प्रहरी कार्यालयबाट घरमा नै नगएर काठमाडौं आएको मनिषाले बताइन।