सधैँ आन्दोलनकर्ता र प्रदर्शनकारीहरुले भरिभराउ हुने माइतीघर मण्डलामा यतिबेला ६ टाेलीले न्याय माग्दै धर्ना दिइरहेका छन्। न्याय पाउने आशमा पूर्वदेखि पश्चिमसम्मका पीडितहरु बढीमा एक महिनादेखि अनशनरत छन्। यही माइतीघर मण्डलाकाे एउटा छेउमा अनशनरत छन्, कैलालीका वीरेन्द्र जैशी।
जैशी २०७३ सालमा प्रहरीले चलाएकाे गाेली लागेर घाइते भएका थिए। त्यतिबेला उनी न कतै आन्दाेलन वा विराेध गर्न गएका थिए, त आपराधिक गतिविधिमा संलग्न थिए, खाली प्रहरीकाे ज्यान बचाउन गएका थिए।
प्रहरीकाे गाेली लागेर घाइते भएका वीरेन्द्रले उपचारमा १० लाख बढी रकम सके। उपचारका क्रममा उनले पाएकाे दु:खकाे त हिसाब नै छैन। घाइते शरीर त्यसमाथिकाे संघर्षले उनी कमजाेर भइसकेका छन्। तर, कुनै पनि निकायले उनकाे घाउमा मलम लगाउने काम गरेनन्। महंगा महंगा औषधि किन्दा र उपचार गर्दा गर्दै थकित भएका उनी अन्तत: न्याय माग्दै माइतीघर मण्डलासम्म आइपुगेका छन्।
जैशीले न्यायकाे मागसहित माइतीघरमा अनसन बसेकाे एक हप्ताभन्दा धेरै भइसकेकाे छ।
राज्यसँग न्यायकाे याचना गर्दै माइतीघरमा अनसन बसेका वीरेन्द्रले बिएल नेपाली सेवासँग भने, ‘ज्यानको प्रवाह नै नगरी प्रहरीलाई बचाउन गएको थिएँ। प्रहरीले उल्टै ममाथि गोली चलाएकाे हाे। अहिले अवस्था नाजुक भइसक्यो, अब उपचार गर्ने सामर्थ छैन। सम्बन्धित निकायलाई भन्दा समेत मेरो पीडा कसैले सुनेनन्।’
वीरेन्द्रमाथि वि.सं. ०७३ फागुन १ गते जानकी गाउँपालिका– ८ भगरैयामा गाेली प्रहार भएकाे थिए। त्यही दिनदेखि वीरेन्द्रकाे जीवन कष्टकर भनिरहेकाे छ। त्यसपश्चत घाइते शरीर बाेकेर महिनामा ५ पटकसम्म अस्पताल धाउनुपर्ने, महंगा महंगा औषधि किन्नु पर्ने भयाे। हरेक पटक महंगा औषधी किन्दा किन्दा उनकाे परिवार नै संकटमा परिसकेकाे छ।
सक्ने थिए त उनी आफ्नाे उपचार आफैं गर्थे तर त्याे सामर्थ उनमा छैन। त्यसपछि उनले राज्यलाई गुहारे तर राज्य उनकाे पीडामा रमिते बन्याे। अब थप उपचार गर्ने सामर्थ नै नभएपछि उनी माइतीघर आएका हुन्। वीरेन्द्रले प्रहरी, प्रशासनदेखि गृह मन्त्रालयसम्म पनि नधाएका पनि हाेइन्। तर, कुनै निकायले उनकाे राेदन सुनेनन्।
आफ्नाे उपचारमा लागेकाे र लाग्ने खर्च सबै सरकारले व्यहाेर्नु पर्ने उनकाे माग छ। ‘सरकारको गोली खाएको छुँ, अब सरकारले मेरो उपचारका लागि खर्च दिनुपर्छ। काम गर्न जाऊ शरीरले दिँदैन, घाउबाट कति बेला रगत बग्छ आफैँलाई थाहा हुँदैन। उपचार गर्दा भएकाे सबै पैसा सकियाे, ऋृण लिएर उपचार गरिरहेका छाैँ। अब त ऋृण लिने ठाउँ पनि कतै छैन। अब सरकारले नदिए कसले दिन्छ ?,’ वीरेन्द्रले गुनासाे सँगै प्रश्न पनि गरे।
७ वर्षदेखि न्यायकाे पर्खाइमा बसेका वीरेन्द्रले थपे,‘अब त न्याय नपाएसम्म जान्नँ, मरेँ भने पनि कुनै डर छैन।’
के थियो घटना ?
वि.सं. २०७३ फागुन १ गतेकाे राति साढे ८ बजे जानकी गाउँपालिका– ८ भगरैयामा गाउँकाे गतिविधि बुझ्न दुई जना प्रहरी गस्तीमा खटिएका थिए। गाउँको जंगलबाट काठ तस्करी हुँदै गरेको थाहा पाएपछि तस्करहरुलाई रोक्न प्रहरी उक्त ठाउँमा पुगेर हत्कडी लगायाे।
प्रहरीले हत्कडी लगाएकाे केही समयमै अन्य तस्करीहरु आएर प्रहरीलाई नै कुटपिट गरे, जसमा सई वृजलाल अधिकारी सख्त घाइते भए। सई वृजलालको ज्यान जोखिममा परेपछि प्रहरी जवान हतारिँदै मद्दत माग्दै गाउँतिर दाैडिए। रन्थनिँदै गाउँमा पुगेका प्रहरी जवान वीरेन्द्रकाे घरमा छिरे।
वीरेन्द्र खाना खाएर आराम गरिरहेका थिए। मद्दत माग्न घरमै पुगेका प्रहरी जवानसँगकाे साथ लागेर घटनास्थल पुगे। वीरेन्द्र घाइते सईलाई बचाउनकाे लागि त्यहाँ पुगेका थिए। तर, सईले वीरेन्द्र काठ तस्करी पुन: कुट्न आएकाे अनुमान गरेर ४ राउण्ड गाेली प्रहर गरे। प्रहरीलाई बचाउन गएका वीरेन्द्र प्रहरीले प्रहार गरेकै गाेली खाएर ठाउँका ठाउँ ढले।
त्यतिबेला वीरेन्द्रकाे काेखमा गाेली लागेकाे थियाे।
प्रहरीकाे गाेली लागेर घाइते भएका वीरेन्द्रलाई तत्काल टिकापुर अस्पताल लगियो। त्यहाँ उनको उपचार हुन सकेन। टिकापुर अस्पतालले कोहलपुर मेडिकल कलेज रिफर गर्याे। तर, त्यहाँ पनि उनकाे उपचार सम्भव नभएपछि काठमाडाैँ ल्याएर त्रिवि शिक्षण अस्पताल भर्ना गरियाे।
घटना घटेकाे करिब ३० घण्टापछि मात्रै वीरेन्द्र शरीरबाट गाेली निकाल्न चिकित्सककाे टाेली सफल भयाे।
३० घण्टासम्म शरीरमा गोली लिएर मृत्युसँग जुधिरहेका उनी होस् खुलेपछि पनि मरेतुल्य भए। उनी दुखाइ सहन नसकेर छड्पट्टिए। ‘पीडा धेरै भएर मरेतुल्य अवस्थामा थिएँ। तर, पनि मैले हिम्मत हारिन्ँ, संघर्ष गरिरहेँ, किनकि मलाई जसरी भए पनि बाँच्नु थियो,’ ७ वर्षअघिकाे त्याे दुखद घटना स्मरण गर्दै वीरेन्द्रले भने।
०००
वीरेन्द्रकाे जीवनमा त्याे दुखद घटना घट्दा नेपाल प्रहरीकाे नेतृत्व सर्वेन्द्र खनालले प्रहरीकाे नेतृत्व गरिरहेका थिए। त्यतिबेला वीरेन्द्रले सर्वेन्द्रसँग राहतकाे माग गरेका थिए। सर्वेन्द्रले उनलाई प्रहरीमा भर्ती गर्न खाेजेका थिए तर उनी सबैमा पास भए पनि अन्तर्वार्तामा फेल भए।
त्यसपछि उपचार गर्दा लागेकाे ऋृण तिर्न उनी विदेश जाने साेच नबनाएका हाेइनन्, तर शरीरकाे लागेकाे गाेलीकाे दागले उनकाे बाटाे राक्याे। उनले कयौँ ठाउँमा बुझे तर विदेश जान सकेनन्।
वीरेन्द्र वर्षअघि लागेकाे गाेलीकाे पीडा अहिले पनि सहन बाध्य छन्। शरीर उसैगरी दुख्छ, बेलाबेलामा चर्कन्छ र रगत बगिरहन्छ। यो असह्य पीडा उनीसँग मात्र सीमित छ। त्यसमा न त राज्यले नै मलम लगाउन खोज्यो, न त आश्वासन देखाएकाहरुले सितलता प्रदान गरे।
पीडाले पाेलिरहेकाे शरीर बाेकेर उनी सम्बन्धित निकायहरुमा नपुगेका पनि हाेइनन्। तर, उनकाे पीडा कसैले पनि मलम लगाइदिएनन्। उनले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीदेखि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मलाई भेटिसकेका छन्। ‘सबैले हुन्छ, सहयोग गर्छाैँ मात्रै भन्छन्, आजसम्म कसैले मेरो उपचारमा सहयोग गरेनन्। सबैले आश्वासन दिने काम मात्र गरे। अब त लाग्छ सबै जना उस्तै हुन्, गफ मात्रै दिने,’ न्यायकाे लागि राज्यका निकायहरुमा धाउँदा धाउँदा हैरान भएका वीरेन्द्रले भने।
०००
घटना हुँदा वीरेन्द्र मात्रै १९ वर्षका थिए। कक्षा ९ मा ध्यायनरत उनले अस्वास्थ्य भएपछि परीक्षा समेत दिन सकेनन्। घरको आर्थिक अवस्था राम्राे थिएन। बुबा (काशिराम जैशी) रोजगारीको सिलसिलामा भारत गएका थिए।
छोराछोरीको भविष्य उज्जवल बनाउन भारत छिरेका काशिराम जैशी यतिबेला आफैँ क्यान्सरसँग लडिरहेका छन्। घरको जेठो छोरो भएकाले भाइ-बहिनीको जिम्मेवारी वीरेन्द्रकौ काँधमा छ। तर, आफैँ अशक्त हुँदा उनी अहिले मर्ने न बाँच्ने अवस्थामा छन्।
हाल वीरेन्द्रलाई साथ दिन विद्यार्थी नेताहरु समेत लागी परिरहेका छन्। सबैले जैसीको उपचारमा सम्बन्धित निकायले न्याय दिन पर्ने माग राखेका छन्। अनशनमा साथ दिईरहेका अनेरास्ववियुका उप–महासचिव भूपेन्द्र शाहले सकेको सहयोग गर्ने र सम्बन्धित निकायलई झकझकाउँदै एक्यबद्धता जनाउँदै सरकारसमक्ष न्याय पहल गरिरहेका छन्।
भिडियाे :