परिश्रमकाे फल सहकारीले खाइदिएपछि याचनाका आँसु चुहाउँदै सडकमा बचतकर्ता

मिनु गोले

काठमाडौं

७६ वर्षीय पेम छिरिङ शेर्पा बुढेसकालमा काठमाडौंको माइतीघर मण्डलामा सकिनसकी आन्दोलनमा होमिन थालेको १३ दिन भयो। बुढेसकालको सहारा होला भनेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नपाएपछि उनी आन्दोलनमा होमिएका हुन्।

काठमाडौँकाे कपनस्थित आरुबारीमा रहेको सोमु बचत तथा ऋण सहकारीले शेर्पाको २५ लाख रुपैयाँ खाइदिएको छ। उनको घर पनि आरुबारीमा नै हो। बुढेसकालमा समेत दैनिक मजदुरी गरेर जम्मा गरेको २५ लाख रुपैयाँ सोमु सहकारीले खाइदिएपछि अहिले शेर्पाको बिचल्ली भएको छ। 

सहकारीले पैसा नदिएपछि अहिले उनले समयमा औषधि किन्नसमेत सकेका छैनन्। ‘म बिरामी भइरहन्छु। बेलाबेलामा औषधि किन्नुपर्छ,’ शेर्पाले भने, ‘तर बुढेसकालको सहारा होला भनेर जम्मा गरेको पैसा सहरकारीले खाइदिएपछि अहिले औषधि किन्नसमेत गाह्रो भइरहेको छ।’

घरमा छोरा–बुहारी भए पनि उनीहरुले हेरचाह नगरेको शेर्पाले बिएल नेपाली सेवासँगको कुरामा बताए। ‘सोमु सहकारीमा २०७५ सालदेखि दैनिक १०० रुपैयाँका दरले मैले पैसा जम्मा गरेको हुँ,’ उनले भने, ‘अहिले हामीलाई हेरचाह गर्ने कोही नभएको समयमा सहकारीबाट पैसा लिन पनि पाइएको छैन। धेरै समस्या भइरहेको छ।’

०००

काठमाडौँमा डेरामा बस्ने ३३ वर्षीया कविता ढकाल पनि माइतीघरमा धर्नामा छिन्। उनले दैनिक ज्यामी (भारी बोक्ने काम) काम गरेर जीवन चलाउँछिन्। अहिले उनी काम गर्न जान सकेकी छैनन्। हाल उनको दैनिकी दिउँसोभर माइतीघरमा धर्ना बस्ने र रातभर चिन्तामा पिराेलिने गरेर बितेकाे छ।

काठमाडौँ बसुन्धारामा रहेको उत्तम बचत तथा ऋण सहकारीमा जम्मा गरेको साढे तीन लाख सहरकारीले नदिएपछि कविता माइतीघरको सडकमा धर्ना दिन आएकी हुन्। कविताले दुई वर्षदेखि सहकारीले पैसा नदिएको बताइन्।

सहरकारीले पैसा नदिएपछि उनी दैनिक मजदुरी गर्न पनि सकेकी छैनन्। पैसा नहुँदा अहिले उनलाई छोरा कसरी पढाउने भन्ने कुराले चिन्तित बनाएको छ। ‘आफ्नो भन्ने अरु कोही छैन। भएको एउटा छोरोलाई राम्ररी पढाउने धोको थियो,’ भुइँमा एकोहोरो हेर्दै भनिन्,‘अरुको लागि यो पैसा थोरै होला तर मेरो लागि निकै थियो। अब मैले छोरो कसरी पढाउने हो ?’

यसअघि पनि सहकारीसँग विवाद भएको बताउँदै कविताले भनिन्, ‘पहिले बचतकर्ताबीचमा एक महिनामा सहकारीमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो। तर, सहमतिको ६ महिनासम्म सञ्चालक समितिले सहकारीको समस्या समाधान त गरेनन् नै सञ्चालक समितिहरु सम्पर्कमा छैनन्।’

उत्तम सहकारीका अध्यक्ष दुर्गेश न्याैपाने बचतकर्ताको पैसा खाएर फरार भएका छन्। कविता भन्छिन्, ‘अब पैसा नलिई हामी घर जाँदैनौँ। दुःख गरेर कमाएको पैसा सहकारीले कहाँ त्यसै लुट्न पाउँछ।’

यहाँ दुई सकारीका दुई पीडित पेम छिरिङ र कविता ढकाल मात्रै होइनन् माइतीघरमा सहकारी पीडितको आन्दोलन चर्को रुपमा उठिरहेको छ। देशभर रहेका धेरै सहकारीले बचतकर्ताको निक्षेप (बचत) हिनामिना गरेपछि अहिले सहकारी पीडितहरु सरकारसँग न्यायका लागि काठमाडौंमा  आन्दोलित छन्।

दिनप्रति दिन माइतीघरमा सहकारी पीडितको संख्या थपिइरहेको छ। ‘नेपालभरका सहकारीपीडित एक हौँ, निक्षेपको साँवा–ब्याज अविलम्ब फिर्ता र सुनिश्चितताका लागि आफैँ लडौँ’ भन्ने नारासहित माइतीघरको सडकमा दैनिक सहकारी पीडित न्यायको याचना गरिरहेका छन्।

के गर्दैछ सहकरी विभाग ?

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्ययाले सहकारी पीडितको समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले देशभर देखिरहेको समस्याका विषयमा अध्ययन भइरहेको भन्दै पीडितहरुको समस्या सामानुपातिक रुपमा समाधान गरिने बताए।

प्रकाशित मिति: : 2023-06-15 22:10:00

प्रतिकृया दिनुहोस्