लगेकाे पैसा फिर्ता नदिएपछि सुजताकाे माइतीघरमा बास

मिनु गोले

काठमाडौं

सिराहा कर्जन्हा नगरपालिकाकी सुजताकुमारी शाहले छिमेकी ममताकुमारी राईलाई १२ लाख रुपैयाँ ऋृण दिइन्। पाँच वर्षअघि २०७५ सालमा राईले छोरीको मुटुमा समस्या भएको र पैसा नभएकाले सुजतासँग १० प्रतिशत ब्याज दिने भन्दै ऋृण लगेकी थिइन्।

सुजतासँग पैसा थिएन। उनले ममतालाई बैंकबाट ऋृण ल्याएर ब्याजको आशामा पैसा दिएकी थिइन। ‘मसँग पैसा थिएन। ब्याज दिन्छु भनेपछि अलिअलि लोभ पनि लागिहाल्यो,’ सुजताले भनिन्, ‘त्यसपछि बैंकबाट ऋण ल्याएर दिएकी हुँ।’

तर, ऋृण दिएको पाँच वर्ष बित्यो ब्याज त परैको कुरा सुजताले सावाँको एक रुपैयाँ पनि पाएकी छैनन्। पैसा नपाएपछि अहिले बैंकको पैसा तिर्न नसकेको सुजता बताउँछिन्। बैंकले पैसा तिर्नका लागि तोकेता गरिरहेको छ। तर, आफूसँग पैसा नभएकाले सुजताले बैंकमा बुझाउन सकेकी छैनन्।

पैसा माग्न जाँदासमेत अहिले ममताको घरपरवराले पैसा नदिने भनेर उल्टो धम्काउने गर्छन्। पहिले पैसा दिन्छु भन्ने गरेकी ममताले सरकारले मिटरब्याजसम्बन्धी छानबिन आयोग गठन गरेपछि पैसा ल्याएकै होइन भन्दै धम्काउने गरेको सुजता बताउँछिन्।

आफैंले दिएको पैसा फिर्ता नआएपछि अहिले उनी न्याय माग्न सिराहादेखि काठमाडौंको माइतीघरमा धर्नामा छिन्। सुजताको दुई छोरा र श्रीमान छन्। सुजता कपडाको व्यापार गर्छिन्। सुजता र उनका श्रीमान व्यवसायमा रहन्छन्।

अहिले सुजताको परिवारलाई दैनिक घरपरिवार चलाउनसमेत गाह्रो हुने गरेको उनी बताउँछिन्। ‘व्यापारले पुग्दैन। अब दुई छोरा पढाउनु पर्‍यो। कहिले व्यापार हुन्छ त कहिले हुँदैन,’ सुजताले भनिन्,‘व्यापारको भरोसा नै छैन। बैंकबाट पनि पटक–पटक फोन आउँछ। त्यही बैंकको पैसा तिर्दैमा अलिअलि भएको पैसा उतै सकिन्छ। अहिले समस्या छ हामीलाई।’

ऋण दिएको पैसा पाँच वर्ष बित्दासमेत फिर्ता नपाएपछि उनी चिन्तित छिन्। श्रीमान डिप्रेशनमा छन्। ‘हामीले विश्वास गरेर पैसा दियो, आज आएर यो दिन देख्नु पर्‍यो,’ उनले भनिन्, ‘हामी यति धेरै पैसा कसरी तिर्न सक्छौँ काहाँबाट ल्याउने पैसा अब जेसुकै होस, बरु मर्न तयार छौँ। तर, न्याय नपाई फर्किएर जादैनौँ।’

सुजता यति मात्रै होइन, अहिले आफ्नै विरुद्धमा मुद्धा परेपछि उनी थप चिन्तामा परेकी छिन्। ममताले अहिले अदालतमा लेनदेनको मुद्दा हालेपछि सुजतालाई थप तनाब परेको हो। उनले भनिन्,‘सरकारले पनि पीडित भन्दै उनीहरुको कुरा सुन्छ। हाम्रो कुरा सुन्दैन। अहिले जिल्ला प्रशासन कार्यालय कार्यालयमा धाउनु परेको छ।’

सिराह, सप्तरी, धनुषालगायत जिल्लाबाट मिटरब्याज पीडितले चैत २ गतेदेखि आन्दोलन गरेका थिए। त्यसपछि सरकारले चैत १८ गते उनीहरुसँग पाँच बुँदे सहमति गर्दै आन्दोलन स्थगन गराएको थियो।

तर, सरकारले मिटरब्याज पीडितको पक्षमा काम गर्दै गर्दा मिटरब्याज साहुहरु मर्कामा परेको भन्दै काठमाडौंमा आन्दोलित छन्।

प्रकाशित मिति: : 2023-06-27 17:30:00

प्रतिकृया दिनुहोस्