सहरी क्षेत्रका महिलाकाे १८ वर्ष नपुग्दै विवाह, आर्थिकस्तर बढे घट्छ गर्भधारण

नेपालमा ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रका महिलाहरुले छिटो विवाह गर्ने गरेको पाइएको छ। स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार औसतमा सहरी क्षेत्रका महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्।

सहरी क्षेत्रका महिलाले १७.९ वर्षको उमेरमा विवाह गर्दा ग्रामीण क्षेत्रका महिलाले १८.५ वर्ष पुगेपछि विवाह गर्ने गरेका छन्। यस्तै ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रका महिलाले धेरै बच्चा जन्माउने गरेको पनि स्वास्थ्य सर्वेक्षणले देखाएको छ। ग्रामीण क्षेत्रका महिलाले औसतमा २ वटा बच्चा जन्माउँदा सहरी क्षेत्रका महिलाले २.२ वटा बच्चा जन्माउने गरेका छन्।

शैक्षिकस्तर बढ्दै जाँदा प्रजननदर घट्दै गएको पाइएको छ। कुनै शिक्षा नलिएका महिलाले औसतमा ३.३ बच्चाहरु जन्माउँदा माध्यमिक स्तरभन्दा बढी शिक्षा लिएका महिलाले औसतमा १.६ बच्चा जन्माउने गरेका छन्।

आर्थिकस्तर बढ्दै जाँदा पनि प्रजननदर घट्दै गएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा गरीब परिवारका महिलाले औसतमा २.८ बच्चाको जन्म दिँदा सबैभन्दा सम्पन्न घरपरिवार परिवारका महिलाले १.६ बच्चाको जन्म दिने गरेका छन्।

२० वर्ष नपुग्दै यौन सम्बन्ध

स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा औसतमा २० वर्ष नपुग्दै महिलाहरुले यौन सम्बन्ध राख्ने गरेको देखाएको छ। ‘२५ देखि ४९ वर्षका महिलाहरुको पहिलो यौन सम्बन्ध राख्दाको मध्येक उमेर १८.३ छ भने पुरुषको २०.७ वर्ष रहेको छ’, सर्वेक्षणमा भनिएको छ।

भूगोलाका आधारमा महिलाको यौन सम्बन्ध राख्ने उमेरमा फरक देखिएको सर्वेक्षणले देखाएको छ। जसअनुसार तराई क्षेत्रका महिलाले १७.८ वर्षको उमेरमा पहिलो पटक यौन सम्बन्ध राख्दछन् भने पहाडी क्षेत्रका महिलाले १९ वर्षको हुँदा पहिलो यौन सम्बन्ध राख्ने गरेका छन्।

प्रकाशित मिति: : 2023-06-24 15:25:00

प्रतिकृया दिनुहोस्