मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ।
झापाको दमक नगरपालिका–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएपछि पीडित परिवारका आफन्त र स्थानीय नाराजुलुसले अस्पताल तनावग्रस्त बनेको हो।
परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन्। चिकित्सकको लापरबाहीले घटना भएको भन्दै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।
उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका हुन्। माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
अस्पतालमा आन्दोलन सुरु भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कुनै पनि अप्रिय घटना हुन नदिन र स्थितिलाई नियन्त्रणमा राख्न अस्पतालभित्र तथा बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। समस्या समाधानका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच समन्वय गराउने प्रयास भइरहेको उनको भनाइ छ।
कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए। अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा भर्ना गरिएको अस्पतालले जनाएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो। तर, पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ।
‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो। त्यसलाई रोक्न र गर्भभित्रको बच्चा निकाल्न शल्यक्रिया गरियो,’ डा. साहले भने, ‘तर, रक्तश्राव रोकिएन। बिरामीको स्वास्थ्य अवस्था झन् खराब हुँदै गएपछि थप उपचारका लागि रेफर गरियो।’
परिवारका सदस्यले थप उपचारका लागि शनिबार राति १२ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। उपचारकै क्रममा आइतबार बिहान ३ः४० बजेतिर महिलाको मृत्यु भएको जनाइएको छ।
डा. साहका अनुसार अस्पताल भर्ना हुनुअघि गर्भपतनका लागि कुनै औषधि सेवन गराएका कारण रक्तश्राव भएको हुनसक्छ। ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भएर बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘गर्भपतन गराउनका लागि बाहिरै कुनै औषधि सेवन गराएकाले त्यस्तो अवस्था आएको हुनसक्ने अनुमान गरिएको छ।’
बच्चा बाहिर निकाल्न एवं रक्तश्राव रोक्न गरिएको शल्यक्रिया सफल नभएको र रगत झन् धेरै बगेपछि थप उपचारका लागि अन्यत्र रेफर गर्नु परेको उनको भनाइ छ। महिलाको २२ देखि २४ हप्ताको गर्भ रहेको हुनसक्ने उनले बताए।