महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बन भएका छन्।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार निलम्बन गरेको हो।
उनले कञ्चनपुरको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।
घर बिदामा जाने तयारीमा रहेकी महिला हवल्दारलाई सञ्चारसेटबाटै आफूकहाँ पठाइदिन भनेका थिए। आदेशपछि हवल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्याे, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेका थिए।
प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पाल हेडक्वार्टर तानिएका थिए।