संघीय संसद सचिवालयका कर्मचारीहरुले आफूहरुमाथि गम्भीर श्रम शोषण भएको गुनासाे गरेका छन्।
संघीय संसद सचिवालय कर्मचारी युनियनले सचिवालयका कर्मचारीहरुमाथि श्रम शोषण भइरहेको भन्दै सांकेतिक विरोधस्वरुप शुक्रबार बिहान ८ बजेको संसदीय समितिको बैठक आधा घण्टा रोकेका छन्।
युनियनले संसद सचिवालयका कर्मचारीहरु लामो समयसम्म खटिनु परेको गुनासो गरेकाे छ। कार्यालय समयबाहेक बिहान ८ बजेदेखि समितिका बैठक र दुबै सदनका बैठक राति ११ बजेसम्म चल्ने हुँदा कार्य गर्न कठिनाइ भएको कर्मचारीहरुको भनाइ छ।
‘सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अहोरात्र खटाइलाई संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति अर्थ मन्त्रालयको कमजोरीका रुपमा लिई गम्भीर श्रम शोषण गरिरहेको हुनाले आजको संसद समितिको बैठक ३० मिनेटपछि मात्रै सुरु हुनेछ,’ युनियनका अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेले भने।