दलहरुबीच समाजवादी मोर्चा बनाउने सहमति, कसले गर्दैछ नेतृत्व ?

नेकपा (माओवादी केन्द्र)सहित समाजवाद मान्ने दलहरुले ‘समावादी मोर्चा’ बनाउने सहमति गरेका छन्। पाँच महिनाअघिदेखि समाजवादी मोर्चा बनाउने कसरतमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा थिए।

दलहरुबीच समाजवादी मोर्चा बनाउने सहमति भए पनि हस्ताक्षर हुन बाँकी छ। तत्काल पार्टी एकता सम्भव नरहेकाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा हुने निश्चित भइसकेको नेकपाका नेता कर्णजित बुढाथोकीले बताए।

तर, सहमतिमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भने सहमति जनाएको छैन। बुढाथोकीले समाजवाद मान्ने दलहरु एकजुट हुन प्रयास भइरहेको बताए। समाजवादी मोर्चा बनाएपछि कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि सहमित भएको छ।

बुढाथोकीले मोर्चाको नेतृत्व सहभागी सबै दलबीच आलोपालो गर्ने सैद्धान्तिक सहमति भएकोसमेत जानकारी दिए। ‘नेतृत्वको समस्या छैन। हामी समावाद चाहने दलहरु एक भएपछि आलोपालो नेतृत्व लिने सहमति भैसकेको छ। हामीबीचको ठुलो दल माओवादी केन्द्र भएकाले पहिलो नेतृत्व प्रचण्डले गर्ने सहमती भएको छ।’

बाबुराम भट्टराई नेतृत्वको नेसपा र बामदेव गौतमसँग अहिले छलफल भैरहेको बुढाथोकीले बताए। मोर्चा घोषणापछि पार्टी एकता भए प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सिटको नेतृत्व गर्ने छन्। प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सिट छ।

समाजवादी मोर्चा बनाउने सहमति भए पनि घोषणाको मिति भने तय भइसकेको छैन। माओवादी केन्द्रकी नेत्री पम्पा भुसालले असारको पहिलो हप्तातिर मोर्चाको घोषणा हुने बताइन्।

प्रकाशित मिति: : 2023-06-15 22:15:00

प्रतिकृया दिनुहोस्