प्रचण्ड भन्छन्- फेरि नयाँ नेकपा बनाउँछौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चा बनाउने तयारी भइरहेको बताएका छन्।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताए।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठुलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’

विगतमाको एकता कायम राख्न सम्भव नभएकाे भन्दै उनले फेरि एकताका लागि पहल गर्नुपर्ने बताए। ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।’

प्रकाशित मिति: : 2023-06-14 13:10:00

प्रतिकृया दिनुहोस्