एकीकृत समाजवादीकाे चेतावनी- सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन्।

उपाध्यक्ष पाण्डेले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्टाइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्टाइएको भन्दै कुनै पनि अवस्थामा यो सह्य नहुने बताए।

‘भौतिक पूर्वाधार मन्त्रालयमा बाँकी ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा, ६७ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा। यसरी बजेट विनियोजन भएको छ। आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन’ उनलले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ। सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन।’

प्रकाशित मिति: : 2023-06-09 12:58:00

प्रतिकृया दिनुहोस्