नेकपा विभाजन–ताका माैन थिए, बामदेव गौतम।
उनी एमाले र माओवादी ब्यूँतिएपछि कतै लागेनन् बरु एक्लिएरै बसे। उनै बामदेव हिजाेआज फेरि एकपटक चर्चामा छन्।
कारण– बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै एमालेमै फर्किन चाहेको बताए उनले। एमालेले ७० वर्षे उमेरहद निलम्बन गरेपछि गौतम पुनः एमालेमा फर्किन चाहेका हुन्।
राष्ट्रियसभा सदस्यसमेत रहेका गाैतम एमालेले दुईवर्षे कार्यकाल र ७० वर्ष उमेरहद राखेपछि सन्तुष्ट थिएनन्। नेकपा बन्दा निर्णायक भूमिका खेलेका उनी नेकपा विभाजनसँगै चारैतिरबाट एक्लिए।
तर उनले एमालेमा फर्किनका लागि आफूलाई पद हाेइन, पार्टीकाे काममा खट्नका लागि महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने सर्त राख्छन्।
‘मलाई केपी शर्मा ओलीले फोन गरे वा भेट मसँग रहेका जेजति साथीहरू रहेका छौँ, एमालेसँग एकिकृत हुन हामी जान्छौँ,’ उनले भने, तर मैले काम गर्ने ठाउँ हुनुपर्छ। मलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्छ।’
गौतमले एमालेमा बस्दा धेरै काम गरेको बताउँदै अब आफू एमालेमा फर्कान तयार रहेकाे जनाउ दिन्छन्।
गाैतमनिकट स्राेतकाअनुसार उनी घुमिफिरी फेरि एमालेमा फर्किदै छन्। मूलघरमा फर्किनका लागि सहज वातावरण बनाउन एमाले उपाध्यक्ष विष्णु पाैडेललाई आग्रह गर्छन्।
बुधबार एमालेका नेताहरूले गौतमलाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए। तत्कालीन नेकपा विभाजन भएपछि गौतम ‘नेकपा एकता अभियान’को संयोजक बनेर माओवादी, एमाले, एकिकृत समाजवादीलाई एकता बनाउने अभियानमा लागेका थिए। तर उनकाे मन यतिबेला एमालेमै फर्किएकाे छ।