महिला क्रिकेटः नेपाल मलेसियासँग पराजित

file photo
file photo

पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो। नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार व्यहोरेको हो।

यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो। यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ।

आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन भने हमिजाहले अविजित १२ रन बनाइन्। त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन्। नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २र२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन्। 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रनमा समेटियो। नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २र२ विकेट लिइन्। उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ। 

प्रकाशित मिति: : 2023-05-29 15:29:00

प्रतिकृया दिनुहोस्