रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार भाेलि गणतन्त्र दिवसका अवसरमा चौधरीकाे बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गर्ने निर्णय गरिएको हाे।

'सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ, मुख्य निर्णय रेशम चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने भन्ने आजको निर्णय छ', उनले भनिन्।

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेका खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन्।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए। उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन्। 

प्रकाशित मिति: : 2023-05-28 11:26:00

प्रतिकृया दिनुहोस्