प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको लडाइँमा हाम फालेको बताएका छन्।
शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि भ्रष्टाचारविरुद्ध लडाइँ चलाउनुकाे विकल्प नभएको बताए।
‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ। जनयुद्ध सुरू गर्दा को कतिबेला मारिने हो भन्ने टुंगाे थिएन। अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ। कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन’, उनले भने।
प्रधानमन्त्रीयले जनताले अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिनेसमेत बताए।