नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै बनिसकेको सरकार किन फुत्कियो भनी प्रश्न समीक्षा गर्न आग्रह गरेका छन्।
साेमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आफ्नो हातबाट सरकार फुत्किएपछि अरुलाई सरापेर गर्न नहुने बताएका हुन्।
‘एकले अर्कालाई घाेचपेच गरेर मात्र हुँदैन। आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो?’, ओलीलाई लक्षित गर्दै उनले भने, ‘त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर हुँदैन। त्यसैले आफूभित्र के कस्ता कमजोरी रहे, सबैले समीक्षा गरौँ। कमीकमजोरी भएका भए त्यसलाई सुधार गरौँ।’
ओलीलाई लक्षित गर्दै उनले अहिले पनि व्यक्तिवादको रोग रहेको बताए। ‘अहिले पनि व्यक्तिवादको रोग रहेको छ। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ। अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति पनि उस्तै छ। अहिले समस्या देखिरहेको छु। व्यक्तिवादको रोगबाट मुक्त भइएन भने, भ्रष्टाचारबाट मुक्त नभए झन् समस्या हुन्छ’, नेता नेपालले भने।