नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव एवम् पूर्व गृहसचिव टेकनारायण पाण्डेको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
एन्टिकरप्सन ज्यूज कम्पनी प्रालिका अध्यक्ष एवम् सञ्चालक विश्वनीति प्रकाशमान सिंह पाख्रिनले अख्तियारमा उजुरी दिँदै पाण्डेको शुरुवाती पददेखि हालसम्मका सबै सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।
पाण्डेले पदीय आचरणविपरीत प्रचलित कानुनको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै उनको सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निवेदनमा माग गरिएको छ।
पाख्रिनका अनुसार पदबहाली हुँदादेखि हालसम्मको जग्गाको मूल्याङ्कन, घर निर्माण वा खरिद गरेको विवरण, उनको पारिवारिक एवम् नातागोतासँग रहेको सम्पत्ति, बैंक ब्यालेन्स, सेयर र सवारी साधनको विस्तृत अनुसन्धान हुनुपर्छ।
‘नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेले पदीय आचरणविपरीत प्रचलित कानुनको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको हुँदा निजको शुरु पदबहाली रहँदादेखि हालसम्मको जग्गाको मूल्याङ्कन विवरण, घर निर्माण गरेको वा खरिदको मूल्याङ्कन विवरण जाँचबुझ गरी निजको पारिवारिक एवम् नातागोतासँग रहेको सम्पत्ति विवरण र बैंक लकर, बैंक ब्यालेन्स, शेयर लगानी, सवारी साधन खरिदसमेतको विस्तृत अनुसन्धान तथा छानबिन गरी पाऊँ,’ उजुरीमा भनिएको छ।
उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम राज्यलाई हानिनोक्सानी पुर्याएको पाख्रिनको ठहर छ।