सम्पत्ति छानबिनको माग गर्दै अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

प्रतिनिधिसभाका स्वतन्त्र सदस्य अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा उजुरी दर्ता भएको छ।

सर्लाहीकाे कविलासी नगरपालिका-७ का स्थानीय विकास ठाकुरले साेमबार अमरेशविरुद्ध सम्पत्ति छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

सिंहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर विभिन्न ठाउँमा घर घडेरी जोडेको भन्दै ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

छाेटाे समयमै सिंहले गरेको आर्थिक फड्को सर्लाहीका जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको उनकाे भनाइ छ।

'२०६३ सालबाट एकैपटक नेपाली काँग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ। निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो', उनले दर्ता गरेकाे उजुरीमा उल्लेख छ।

सर्लाहीबाट आर्थिक चलखेलले पटक-पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भइरहेको ठाकुरकाे आराेप छ।

राजनीतिलाई पेशा बनाएर सर्लाहीलाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भन्दै उनले अमरेशमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न माग गरेका छन्।

'उहाँको यो राजनीतिक जीवनमा राजनीति बाहेक अन्य पेशा वा व्यवसायमा समेत संलग्न नगएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा यस आयोगको क्षेत्राधिकारभित्रै पर्ने भएकाले अनुसन्धान गरी आवश्यक कारवाहीका लागि सादर अनुरोध गर्दछ', ठाकुरले भनेका छन्।

प्रकाशित मिति: : 2023-05-08 13:03:00

प्रतिकृया दिनुहोस्