रक्षामन्त्री खड्काकाे नेतृत्वमा सरकारले महावीर पुनसँग थाल्यो वार्ता

‘सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कार’ नीति निर्माणसहित ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसँग वार्ता थालेको छ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सुरु भएकाे वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी छ।

पुनले नेपालमा बनेको ‘यात्री’ मोटरसाइकललाई सरकारले दर्ता अनुमति नदिएको समाचार बाहिरिएपछि ‘सामाजिक जनआन्दोलन’ (अहिलेको धर्ना) गर्ने घोषणा गरेका थिए। यद्यपि, सरकारले नेपालमा बनेका सबै सवारी साधन र अनुसन्धानलाई दर्ता गर्न मिल्ने गरी नियमावली बनाइसकेको छ।

अब महावीर पुनको मुख्य माग ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार’ कोष बनाएर संघीय र प्रदेश सरकारले त्यसको लागि १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा केन्द्रित छ।

यस्ता छन्, पुनका चार बुँदे माग :

१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस र ‘अनुसन्धान नबप्रबर्तन र आविष्कार कोष’मा राखियोस्। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस। सो कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस्।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन सन्चालन तथा खरिद ऐन’ बनाइयोस र आवश्यकता अनुसार अनुसन्धानको कामलाई कार्यक्रम मिल्ने गरी नीति नियम बनाइयोस्।

३. अनुसन्धान नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस र स्वदेशी उत्पादनलाई बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस। सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि जब उद्यमी प्रवर्धन समिति बनाइयोस र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने ब्यवस्था गरियोस्।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि विज्ञान मन्त्रालय अन्तर्गत ‘व्यावहारिक अनुसन्धन र नवप्रर्वतन’ विभाग ओलियोस्, सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्न पूर्ण अधिकार सहित जिम्मा दिइयोस्।

महावीर पुनको तीन दिनदेखि चिसो सडकमा बास, देखेन राज्यले

प्रकाशित मिति: : 2023-04-30 13:29:00

प्रतिकृया दिनुहोस्