अटेरी प्रहरीमाथि बालेनकाे 'डण्डा'

BreaknLinks
BreaknLinks

सधैंजस्ताे मंगलबार (हिजाे) दिउँसाे पनि पुरानाे बसपार्ककाे वारि सर्वसाधारण आवतजावत गरिरहेका थिए। सर्वसाधारणकाे अत्याधिक आवतजावत हुने यहाँकाे सडकपेटीकाे बिच्चैमा थियाे, प्रहरी विटकाे स्यानाे भवन, जुन भवनकै कारण सर्वसाधारणालाई हिँड्न सधैं कठिन हुन्थ्याे। त्याे सडक छिचाेल्न कि त अर्काे भवन भित्रबाट घुस्नु पर्थ्याे, कि त सडकछेउका रेलिङ नाध्नु पर्थ्याे। त्यहीले सर्वसाधारणलाई हिँड्न असहज बनाएका साे भवनमाथि एकाएक डाेजर चल्याे।

यहाँ सर्वसाधारणालाई हिँड्न अप्ठ्याराे भएकाे कुरालाई मध्यनजर गर्दै दुई हप्ता अगाडि काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रहरीलाई साे भवन हटाउन भनेका थिए।

‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ,’ गत चैत २५ गते प्रहरीलाई आग्रह गरेका थिए।

तर, मेयर बालेनकाे याे आग्रह नमानेर प्रहरीले अटेरी गरिरहेकाे थियाे। बालेन प्रहरीलाई पहिलाे पटक यसरी आदेश दिएका भने हाेइन्, सडकपेटीमा बनेका भवन, फुतपाथ पसललगायत अन्य संरचना हटाउने महानगरकाे नीति नै छ। काठमाडाैँकाे नेतृत्व सम्हालेपछि बालेनले याे काम गर्दै आएका थिए।

नियम मिचेर सडकपेटीमा संरचना बनाउने नामुद व्यापारीका विशाल भवनमा समेत डाेजर चलाउन पछाडि नहटेका बालेन प्रहरीसँग किन डराउँथे र। मंगलबार दिउँसाे पुरानाे बसपार्कमा प्रहरीले सडकपेटी मिचेर बनाएकाे साे भवनमा डाेचर चलाए। अर्थात्, अटेरी प्रहरीमाथि बालेनले 'डण्डा' लगाए।

सिंहदरबारकाे फाेहाेर नउठाएर अटेरी प्रशासनिक भवन हल्लाएका बालेनले फेरि प्रहरी मुख्यालय हल्लाएका छन्।

महानगरले यसअघि पनि मैतिदेवीकाे प्रहरी विटमा डाेजर चलाएकाे थियाे। महानगरले त्यति गर्दा पनि प्रहरी अटेरी बनेपछि बालेनले डाेजर चलाउन बाध्य भएकाे महानगर प्रहरी बल प्रमुख एसएसपी राजु पाण्डे बताउँछन्।

‘हामीले पहिलादेखि नै प्रहरीलाई सडकपेटीका विट हटाउन भनिरहेका थियाैँ, याे महानगरकाे नीति हाे। तर, प्रहरीले अटेरी गरेपछि  त्यहाँ डाेजर चल्याे,’ पाण्डे भने।

उनले अन्य सडकपेटीमा बनेका बाँकी विटहरु पनि हटाउने तयारी भएकाे र प्रहरीसँग पनि समन्वय भइरहेकाे बताए। काठमाडाैँका अरु आधा दर्जन ठाउँहरुमा प्रहरीका यसैगरी सडकपेटी मिचेर बनाइएका विटहरु छन्।

प्रकाशित मिति: : 2023-04-26 10:10:00

प्रतिकृया दिनुहोस्