महिला दिदीबिहिनीले गर्दा एमाले बलियो भएको छ: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको शनिबार उनी उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे। उनले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गरे।

'महिलाहरू हरेक तरबार हो। एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्', उनले भने, 'महिला दिदीबहिनीको योगदानले गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ।'

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुसाशित र गतिशीलरूपमा अगाडि बढाएको समेत बताए। उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने भनाइ राखे।

'एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ', उनले भने।

अस्तव्यस्त पार्न थालिएको एमालेकोसङ्गठनलाई बलियो र खदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने भनाइ राखे। नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा रहेको थियो।

प्रकाशित मिति: : 2023-04-08 17:33:00

प्रतिकृया दिनुहोस्