जब त्यहीँ घरजम गर्ने सोच आयो‍‍...

BreaknLinks
BreaknLinks

शनिबार एकाबिहानै मोबाइलको घण्टी बज्यो। निन्द्राकै सुरमा फोन उठाएँ। उताबाट संगीता दिदी बोल्न थाल्नुभयो, ‘इशु, तिमी अझै सुतिराको? नउठ्ने? हाइकिङ जान ढिला हुन्छ, छिटो उठिहाल त!’

दिदीको कुरा सुनेर मोबाइल हेरेँ, घडीमा साढे ६ बजिसकेको रहिछ। दिदीलाई उठ्ने जानकारी दिँदै फोन काटेर हत्तारिँदै उठेँ।

हाइकिङ जाने हाम्रो योजना साता दिनअघि मात्र बनेको थियो। जुन योजना बिएल नेपाली सेवाका हामी ८ जना सहकर्मीले मिलेर बनाएका थियौँ। जहाँ हुनुहुन्थ्यो सुशीला विश्वकर्मा दिदी, टोपेन्द्र रोकामगर सर, संगीता शर्मा दिदी, साथी मन्दिरा अधिकारी, प्रतिस्णा रेग्मी, भाइ रविन भण्डारी, बहिनी मौसमी राई अनि म।

सबैको सल्लाहअनुसार हाइकिङको लागि ‘तारेभीर’ जाने याेजना बन्यो। तारेभीर अर्थात् हाइकिङका लागि उपयुक्त ठाउँ। जहाँ घुम्नका लागि हजारौँ पर्यटक आउँछन्। तर हाम्रो लागि नौलो ठाउँ थियो, तारेभीर। त्यसैले त्यहाँ पुग्ने हुटहुटी सबैमा थियो।

शनिबार हाइकिङ जाने पक्का भएपछि गत १० गते नै सबै योजना बनिसकेको थियो। शुक्रबारको योजना थियो, शनिबार बिहानको सात बजे गाेकर्ण मन्दिर अगाडि भेला हुने।

याेजनाअनुसार म ६ बजे नै उठ्नुपर्थ्यो तर संयाेगवस मेराे निन्द्रा दिदीकाे फाेनले ब्युँझायाे। ढिलै भएपनि हत्तारिएर उठेकी मैले बहिनीलाई जगाएर फ्रेश हुन थालेँ। बहिनी पनि हत्तारिँदै उठिन् र भन्न थालिन्, ‘अब, हामीलाई ढिला हुने भयो यार।’

अरुबेला ढिला उठ्ने हामी त्यो दिन भने चाँडै उठेको देखेर मम्मीले हामीलाई भन्न थाल्नुभयाे, ‘आज कहाँबाट घाम झुल्कियाे?’

हामीले हाँस्दै, ‘पूर्व’बाट भनेर जवाफ दियौँ। त्यतिकैमा मोबाइलकाे घण्टी बज्याे। फाेन टाेपेन्द्र सरकाे थियाे। फोन गरेर सरले भन्नुभयो, ‘इशु, म गोकर्ण आइसकेँ, तपाईंहरु कतिबेला आइपुग्नुहुन्छ?’ सरकाे कुरा सुनेर मैले साेधेँ, ‘कति छिटो आउनुभाको?’ मेराे कुरा सुनेर हाँस्दै सरले भन्नुभयाे, ‘अनि हिजो ७ बजे नै गोकर्ण आउने भन्नुभाको होइन र?’ सरलाई केही समय पर्खन लगाउँदै फाेन काटेँ।

हाइकिङको तयारीमा व्यस्त थियौँ। घडीले पनि ९ बजाइसकेको थियो। त्यतिखेरसम्म रविन भाइ, मन्दिरा र प्रतिस्णा हामीकहाँ आइसकेका थिए। गोकर्णसँगै जाने योजना बनाएका हामी साढे ९ बजे घरबाट निस्कियौँ। र त्यसको १५ मिनेटपछि हामी गोकर्ण पुग्यौँ। जहाँ हामीलाई सरलगायत सुशीला दिदी, संगीता दिदी र उहाँको ७ वर्षका छोराले पर्खिरहनुभएको थियो।

तोकेको समयभन्दा ढिला पुगेका हामीलाई देखेर दिदीहरुले भन्न थाल्नुभयो, ‘घर चाँडै फर्किनुपर्छ। किन ढिला गरेको? गन्तब्यसम्म पुग्न ढिला हुन्छ हाेला नजाउँ कि?’ लामाे समय पर्खनु परेकाे र फर्किन ढिला हाेला भनेर उहाँहरू निराश पनि हुनुहुन्थ्याे। याेजना बनाइसकेपछि जानै पर्छ भनेर ढिला गरेकोमा सरी भन्दै हामी गोकर्णबाट सुन्ताखानतर्फ लाग्यौँ।

तारेभीर जाने हाम्रो पहिलो खुड्किलो थियो, सुन्ताखान। जहाँबाट तारेभीर पुग्न करिब ५ किलोमिटर टाढा पर्छ। सुन्ताखानबाट हामीले १० बजे ‘बसपार्क’ जाने अटो चढ्यौँ। अटो चढेको १५ मिनेटपछि हामी बसपार्क झर्यौँ। त्यहाँबाट तारेभीर जानका लागि हामीले पैदल यात्रा गर्नुपर्थ्याे।

अटोबाट उत्रिएपछि सामान ल्याएको झाेला काँधमा भिर्दै तारेभीरतर्फ लाग्यौँ, हामी। बसपार्कबाट तारेभीर जानका लागि उकालो चढ्दै थियौँ, एक्कासी चिसो हावा चल्न थाल्यो। शान्त वातावरण, सरर चलेकाे चिसाे हावा, जसले बिग्रिएको हाम्रो मुड नै फ्रेश बनाइदियो।

काठमाडौंका सडकमा सधैं सवारीसाधनकाे काेलाहल र धुलोको सामना गर्ने हाम्रा लागि शान्त वातारण र स्वच्छ हावाले स्पर्श गर्नु सामान्य कुरा थिएन। चलिरहेको चिसो हावासंग रमाइरहेका साथीहरुले भनिरहेका थिए, ‘स्वर्ग पुगेको अनुभूति भयो।’

हावाको बहावसँगै नाच्न, गाउन सुरु गरेका साथीहरुले कराउँदै भन्न थाले, ‘वाह, ह्वाट अ कुल वेदर?’ हामीले गरेको रमाइलोको कारण माहोल पूरै तातिएको थियो।

नौलो ठाउँमा पहिलोपटक पुगेका हामी रमाइलो गर्दै हस्याङफस्याङ हुँदै ‘घ्लान’ गाउँ पुग्यौँ। जुन तामाङ समुदायकाे बस्ती थियाे। त्यही बस्तीमा भेटिनुभयो, सर्मिला थिङ।

माटोले बनेको घर नजिकै लुगा धुँदै गर्नुभएकी दिदीलाई देख्नासाथ सोध्न मन लाग्यो, ‘दिदी तारेभीर पुग्न कति समय लाग्छ?’ हामीले सोधेको प्रश्नको जवाफ दिदैँ ती दिदीले भन्नुभयो, ‘अब, डेढ घण्टा लाग्छ।’

हामी हिँडिरहेको बाटो देखाउँदै उहाँले भन्नुभयो, ‘यो बाटो नछोडी जानुहोस्, जहाँनेर अङ्ग्रेजी शब्दको डब्लू देख्नुहुन्छ, त्यहीँबाट नजिक छ, तारेभीर।’

टन्टलापुर घाममा लगातार हिँडेकाे कारण शरीर थाकेकाे थियाे। मलाई हिँड्न गाह्रो भइरहेको थियो। मेरो खुट्टाले मलाई आराम चाहिएको संकेत दिइसकेको थियो। मसँगै मन्दिरा र प्रतिस्णाको पनि उस्तै हाल थियो। उनीहरु पनि रेस्ट गरौँ भन्दै थिए। ९ जनाको ग्रुपमा सबैभन्दा थाकेका थियौँ, हामी तीन बहिनी। त्यसैले बाटोमै लडेर रेस्ट लियौँ। र चिसोपानीले मुख धोयौँ। 

केही समय लिएको आरामले फुर्तिला भएका हामी लठ्ठी टेक्दै साथीहरुलाई पछ्याउँदै डब्लूलाई खोज्न थाल्यौँ। हामीले डब्लूलाई खोजिरहँदा संगीता दिदी भने धमाल फिल्मको नाम निकाल्दै भन्दै हुनुहन्थ्यो, ‘डब्लू भेट्यो भने खजाना पाउँछौँ है।’

हिन्दी फिल्म हो, धमाल। जहाँ चार जना हिरो अंग्रेजी शब्द डब्लूले बनेको रुखको खोजीमा हुन्छन्। र उनीहरुले त्यही डब्लूमा खनेर खजना (पैसाले भरिएको झोला) भेट्छन्। तर हाम्रा लागि खजना भेटाउनु भनेकै तारेभीर पुग्नु थियो।

बस्तीबाट हिँडेको डेढ घण्टापछि हामी त्यही डब्लू भएको ठाउँमा पुग्यौँ। डब्लू देखेर उत्साहित भएका हामी तिर्खाएका व्यक्तिलाई पानी पिउँदा मिल्ने सन्तुष्टि भन्दा धेरै खुसी भएका थियौँ।

डब्लू नजिकै पुगेका हामीले जंगलको बीचमा पसल राखेकी एउटी दिदीलाई सोध्यौँ, 'दिदी, अब तारेभीर पुग्न कति समय लाग्छ? पसलकी दिदीले अगाडिको पहाड देखाउँदै भन्नुभयो, ‘यही त हो नि तारेभीर।’ हेर्दा सानाे पहाड भएपनि वरपर घेरिएको रूखहरूको कारण चिटिक्क देखिएको थियो, तारेभीर। 

आफ्नाे अगाडि तारेभीर देखेर खुसी भएका हामी उफ्रँदै लाग्यौँ, त्यही पहाड। ३ घण्टादेखि हिँड्न थालेका हामी एकअर्काेसँग ‘फाइनली तारेभीर’ आइपुग्यौँ भन्दै अगाडि बढ्न थाल्यौँ। र पुग्याैँ हाम्रो उद्देश्य, तारेभीर।

त्यहाँ पुगेपछि जंगलकाे बीचमा बसेर हामीले साथमा बाेकेका नास्ता खायाैँ र केही समय रमाइलाे गर्याैँ।

तारेभीर पुगेपछि मैले छिमेकी दिदीलाई सम्झिन थालेँ। उहाँले मलाई ‘तारेभीरमा छुट्टै आन्नद छ, काठमाडौं सहर देखिन्छ, त्यहाँ पुगेपछि घर फर्कन मनै लाग्दैन’ भनेका कुराहरु स्मरण गरेँ। नभन्दै दिदीले वर्णन गर्नुभएको भन्दापनि धेरै शान्त र सुन्दर थियो, तारेभीर। साँच्चै त्यहीँ नै घरजम गरेर बस्यौँ जस्तो थियो तारेभीर।

प्रकाशित मिति: : 2023-04-08 18:35:00

प्रतिकृया दिनुहोस्