गाउँमा युवालाई रोजगारी दिने वाचा गरेका वडा सदस्य नै कोरिया पलायन !

इलामको देउमाइ नगरपालिका-५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन्।

गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन्।

उनी २०२२, को ईपीएस भासा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया आएपछि उनको वडा सदस्यको पद रिक्त भएको छ।

स्थानीय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष्य बोकेका उनले कोरियालाई केही वर्ष मात्रै कर्मभूमि बनाउने बताएका छन्।

नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरियन भाषा पढेका उनले भाषा परीक्षा उत्तीर्ण गरेसंगै ईपिएसमार्फत कोरिया छिरेका छन्।

‘आम युवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने, स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस्’ भन्दै चुनावमा होमिएकाहरु नै वैदेशिक रोजगारी अंगाल्नुपर्ने यो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण भएकाे स्थानीय बताउँछन्। 

प्रकाशित मिति: : 2023-03-29 18:30:00

प्रतिकृया दिनुहोस्