असुरक्षित हुँदै वन्यजन्तु: न जङ्गलमा वास पाए, न खानेकुरा

जङ्गली जनावर बस्ने घना जङ्गल (पशुजनावरको बसोबास क्षेत्र) मानिसहरूको अतिक्रमण परेपछि जङ्गली जनावरहरूसमेत असुरक्षित हुन थालेका छन्।

एकातिर जङ्गलसँग आश्रित मानिसहरूको सङ्ख्या बढ्दै गएको छ। अर्कोतर्फ वैज्ञानिक वनका नाममा सर्पट कटान हुने र साल, कर्मा, अस्नाबाहेक अरु वनस्पतिको संरक्षण नगर्ने सामुदायिक वनको नीतिले गर्दा जङ्गली जनावरको बसोवास क्षेत्र मासिँदै गएको हो। बाह्रै महिना मानिसहरू कुनै न कुनै उपयोगका लागि जङ्गल पस्ने गर्छन्। जसले गर्दा जङ्गली जनावर असुरक्षित भएका छन्।

जङ्गली साग निगुरो खोज्ने, दुना टपरीका लागि पात खोज्न जाने, दाउरा खोज्ने, रातोमाटो र कमेरो लिन जाने मानिससहरू ३६५ दिन नै जङ्गलमै हुन्छन्। बसोबास क्षेत्रमा मानव अतिक्रमण मात्र होइन, पछिल्लो समय जङ्गली जनावरको चोरी शिकारी र तस्करीसमेत बढेको छ।

डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा एउटा नीलगाई र दुईवटा चित्तल चोरी तस्करी गरिरहेको अवस्थामा तस्करलाई पक्राउ गरी मुद्धा दायर गरियो।

उनले भने, 'जङ्गली जनावरहरू जङ्गलमा भन्दा मानव बस्तीमा सुरक्षित हुन थालेका छन्। शिकारीले बिच्काएका जङ्गली जनावर बस्तीमा भेटिनु यसैको कारण हो।'

आव ०७७-०७८ मा रङ्गेली –३ मा र विराटनगर एयरपोर्टको कम्पाउण्डभित्र नीलगाई भेटियो। जङ्गलमै बसोवास गर्ने चरा र कछुवाहरूसमेत गाउँघरमा भेटिन थालेका छन्। उनी भन्छन्, 'माउसुली,सुनगोहोरो, हुचीललगायत जीवजन्तु डिभिजन वन कार्यालयले उद्दार गरी सामुदायिक वनलाई संरक्षण गर्न दिएका छौं। हामीसँग आइनपुगेका घटना अझ बढी हुन्छन्।'

आर्थिक वर्ष २०७६/०७७ मा सात प्रजाति जङ्गली जनावर मानव बस्तीमा भेटिएको डिभिजन वन कार्यालय मोरङको तथ्याङ्क छ।

२०५२ सालमा सामुदायिक वनको अवधारण आयो। त्यसपछि नेपालमा वन क्षेत्र विस्तार भएको तथ्याङ्क हरेक वर्ष सार्वजनिक भइरहेका छन्। सामुदायिक वनले वन विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको वन विस्तारको अभियानमा लागेका अभियन्ताहरूको भनाई छ।

तर, अभियानले मानिसले प्रयोग गर्न उपयोगी जातका काठपातको मात्र वृक्षारोपण गरे। जसले गर्दा वन क्षेत्र जङ्गली जनावरका लागि उपयुक्त भएन।

सामुदायिक वन महासङ्घ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले भन्छन्, 'जङ्गल मानव निर्मित भयो। जहाँ जङ्गली जनावरले खाने फलफूलजन्य वनस्पति शून्य भएका छन्। अग्ला रुख मात्र होइन, साना बुट्यानहरू जसले पर्यावरणको रक्षा गर्दै हिँडडुल गर्ने जङ्गली जनावरहरूको वासस्थानका रुपमा प्रयोगमा थिए। ती वनस्पति पनि अनेक अभियानका नाममा फाँडिए।'

'वनस्पति कोइला बनाउने अभियानले साना बुट्यानहरू सखाप भए। अहिले आएर अभियन्ताहरू आँखा खुलेका छन्', उनले भने। पौडेलका अनुसार अहिले बाँदरले खाने फलफूल जन्य वनस्पति जङ्गलमा छैनन्। त्यसैले बाँदर र अरु जङ्गली जनावरहरू मानव बस्ती र राजमार्ग वरपर भेटिन्छन्।

बसोबास मासिएकाले बाँदर गाउँघरतिर

बाँदर विज्ञ डाक्टर सविना कोइरालाका अनुसार बाँदरको प्राकृतिक बसोवास मासिएकोले बाँदरहरू गाउँघर तिर छिरेका छन्। बाँदर मात्र होइन, खरायो, दुम्सी, स्याल, वनकुकुर, चितुवासमेत गाउँ छिरेका छन्।

डाक्टर कोइरालाले वन भनेको साल, कर्मा र अस्नाका ठूला रुख मात्र हुन् भन्ने बुझाइले हाम्रो वातावरणीय सन्तुल नै बिग्रिएको बताइन्। उनका अनुसार बाँदरमा प्राकृतिक बसोवास बदल्न सक्ने क्षमता भएकोले गर्दा बाँदर अहिले पनि घटेका छैनन्। तर, अरु प्रजातिका जङ्गली जनावरको बसोवास सुरक्षित नगरिदिने हो भने ती पशुजनावरहरू लोप हुने निश्चित छ। कोइरालाले बाँदरलगायतका जङ्गली जनावरको बसोवासका लागि झाडीहरू सरक्षित हुने पर्ने बताइन्।

मोरङको कानेपोखरी–७ का इन्द्रप्रसाद कोइरालाले भने, '२०४५ सालसम्म मोरङको पूर्वपश्चिम राजमार्ग उत्तरको जङ्गलमा गाई लिएर गोठालो जाँदा हामी खाजा बोकेर जान्न थियौं। जङ्गलमा वनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम खान पाइन्थ्यो। बाँदरले खाइनसकेर उभ्रिएको हामी खान्थ्यौं। गाउँघरतिर बाँदर, खरायो, दुम्सी, स्याल देख्न पाइँदैन थियो। तर, अहिले जङ्गलमा वनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम केही छैन।'

उनले जङ्गली फलफूल नभएको र जङ्गलको झाडी मासिएकोले वन्यजन्तु गाउँ पसेको बताए। दैनिक जसो सडक दुर्घटनामा मर्छन्, जङ्गली पशु मोरङको बेलबारीदेखि पूर्व पथरीशनिश्चरेको सुनझोडा खोलाबीचको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा बाँदर, हरिण, चित्तल र मृगले दैनिक जसो दुर्घटना गराउने गर्छन्।

डिभिजन वन कार्यालय मोरङले सडक दुर्घटनामा मरेका र घाइते भएका जङ्गली पशु जनावरको तथ्याङ्क राखेको छैन। तर, बेतना पूर्व सुनझोडा बीचको राजमार्ग क्षेत्रमा हप्तामा एउटा जङ्गली जनावर मर्ने गरेको वनसँग नजिक वन प्राविधिकहरु बताउँछन्।

प्रकाशित मिति: : 2023-03-11 15:33:00

प्रतिकृया दिनुहोस्