नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीहरुलाई अपराधी, हत्यारा, लुटेरा भन्नेहरुलाई ठेगान लगाउने चेतावनी दिएका छन्। आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन।
देशमा सर्वहारा वर्गको उत्थानका लागि लडेकाहरुलाई अपराधी भनेको सुनेको भन्दै उनले भने,‘आज बजारमा माओवादीले भत्कायो, अपराधी हुन, हत्यारा, लुटेरा हुन भन्ने गरेको सुन्निन्छ। हामीलाई प्रचण्ड जीले के गर्नुहुन्छ माओवादीहरुलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’
विप्लवले २०० वर्षसम्म नेपालीहरुलाई लुटेर सम्पत्ति थुपारेकाहरु अपराधी, लुटेरा रहेको बताए। ‘आज हामी खानका लागि लड्छु भन्दा, खान देउ भनेर लड्न खोज्दा अपराधीकरण गरिन खोजिदैछ। खासमा यस्तो होइन,’ उनले भने,‘अपारधीहरु २०० वर्ष जनतालाई लुटेर सम्पत्ति थुपार्नेहरु, ५० लाई ५०० बनाएर ठग्नेहरु लुटाहरु हुन।’
उनले लोकतन्त्रमा माओवादीलाई अपराधी भनेमा इतिहास दोहोरिने चेतावनी दिए। उनले भने,‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनायो भने इतिहास दोहोरिन्छ। दोहोर्याइने छ। फेरि माओवादी एक भयौँ भने ६० सालको माओवादी बन्छ।’
विप्लवले माओवादहरु एक ठाउँमा आउनुपर्ने र देशलाई वैज्ञानिक माजवादमा लग्नुपर्ने बताए। उनले नेपालमा कम्युनिष्ट नचाहानेहरु आफूहरुका विरुद्धमा लागेको बताए।
भिडियाे: