जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णयअनुसार कार्यालय तथा मातहतका निकायहरूमा बिदा दिइएको उल्लेख गरिएको छ।
त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पुष्टि गरेका छन्।
जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ। यो दिवस नेपालमा जनयुद्धको सुरूवातको सम्झनामा मनाइँदै आएको छ।
विशेषगरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक बिदा दिने गरेका छन्। यस वर्ष जनयुद्ध दिवसका अवसरमा अन्य पालिकाहरूले भने बिदाको निर्णय गरेका छैनन्।
तर, सर्वोच्च अदालतले भने जनयुद्ध दिवसमा सार्वजनिक बिदा नदिन एकपछि अर्को निर्णय गर्दै आएको छ। तर, स्थानीय तहहरूले सर्वोच्चको आदेशको उपेक्षा गर्दै धमाधम बिदा दिइरहेका छन्।
बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै बिदा कार्यान्वयन नगर्न भनेको छ ।
गत माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको निर्णयविरुद्ध परेको रिटमा बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै बिदा कार्यान्वयन नगर्न आदेश दिएको थियो।
त्यसअघि पनि प्रचण्ड सरकारले दिएको सार्वजनिक बिदा त्यस्तै ०८० पुस १३ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले बदर गरेको थियो।
त्यस्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले जनयुद्ध शब्द नै प्रयोग नगर्न अन्तरिम आदेश जारी गरिसकेको अवस्था छ।