प्रचण्डविरुद्ध अदालतमा परेको रिटप्रति माओवादीको आपत्ति

नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्धमा सवोच्चमा परेको रिटप्रति आपत्ति प्रकट गरेको छ।

द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने भनि प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी केन्द्रले आपत्ति प्रकट गरेको हो।

पार्टीका महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारको विषलाई अतिञ्जित गर्न खोजिएको बताएका छन्। उक्त रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको समेत उनको भनाइ छ।

गुरुङले भनेका छन्,‘सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको अधिकारक्षेत्रभित्रका विषयहरुलाई प्रतिकूल असर पर्ने गरी अधिकारक्षेत्र ग्रहण गर्न, कारबाही अगाडि बढाउन र कुनै निर्णय गर्न नमिल्ने स्मरण सहित सचेत गराउन चाहन्छौं।’

२०७६ माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालत रिट परेको छ।

विज्ञप्ति:

प्रकाशित मिति: : 2023-03-05 13:50:00

प्रतिकृया दिनुहोस्