प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मन्त्री बनेका शरतसिंह भण्डारीलाई पदमुक्त गर्ने तयारी गरेका छन्।
लोसपाले आफैं सम्मिलित मन्त्रिपरिषदले पारित गरेको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि ओली आक्रोशित बनेका हुन्। लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन्। बुधबार लोसपाले भूमिसम्बन्धि अध्यादेशलाई समर्थन गर्न नसकिने निष्कर्ष निकालेको थियो।
त्यसअघि नै जसपा नेपालले पनि भूमिसम्बन्धि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको थियो। तर, उपेन्द्र यादवको पार्टीले ओलीलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी छैन।
आफैं सरकारमा भएर जारी भएको अध्यादेश अस्वीकार गरेपछि मन्त्री फिर्ता गर्न लोसपालाई नैतिक संकट परेको छ। यता प्रधानमन्त्री ओलीले मन्त्री हटाउँन एक्सन सुरु गरिसकेका छन्।
बुधबार नै लोसपाको विज्ञप्ति लगत्तै निकटस्थ नेताहरूसँग छलफल गरेका ओलीले बिहीबार साँझसम्मको अल्टिमेटम दिएका छन्। यदि आज साँझसम्म अध्यादेशमा अस्वीकार गर्ने निर्णय फिर्ता नगरे लोसपालाई हटाएर जसपा नेपाललाई सरकारमा सहभागी गराउँने ओलीले तयारी गरेको बालुवाटारले स्रोतले बतायो।
स्रोतका अनुसार ओलीले भण्डारीलाई सरकारबाट हटाएर थप एक मन्त्रीसहित दुई मन्त्रालय दिएर उपेन्द्रलाई सरकारमा सहभागी गराउँने तयारी गरेका छन्।
उपेन्द्रले मधेसको मुख्यमन्त्रीमा पनि दाबी गरेकोले केहीदिनभित्र टुंगो लागिसक्ने स्रोतले बतायो। प्रतिनिधिसभामा स्पष्ट बहुमतमा रहेको ओली सरकारलाई राष्ट्रिय सभामा मात्र अन्य दलको आवश्यकता परेको हो। प्रतिनिधि सभामा कांग्रेस-एमालेको बहुमत छ।
जसपाले समर्थन गरे अध्यादेश दुवै सदनबाट पारित हुने भएकाले राष्ट्रिय सभामा १ सिट भएको लोसपालाई गठबन्धनबाट हटाउँदा पनि सरकारलाई फरक नपर्ने स्रोतको दाबी छ।