१५ दिनदेखि प्रतिष्ठानमा छोराको शव, दोषीलाई पक्राउ नगरेसम्म शव नलिने परिवारको अडान 

रोल्पा जिल्ला रन्टिगढी गाउँपालिका–२ निवासी १९ बर्षीय राजेन्द्र विकको मृत्यु भएको १५ दिन बितीसक्दा पनि परिवारले उनको शव बुझ्न मानेका छैनन्। 

प्रहरीले किटानी जाहेरी लिन नमानेको र घटनालाई गम्भीर रुपमा नलिएर दोषीलाई पक्राउ गर्न चासो नदिएको भन्दै मृतकको परिवारले शव बुझ्न नमानेको हो। 

परिवारले शव नलिँदा १५ दिनदेखि घोराहीस्थति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा रहेको छ।

गत माघ महिनाको २९ गते रुन्टिगढी गाउँपालिका वडा नं. १ स्थित दलवीर विकको छोराको विवाहमा सहभागी हुनका लागि राजेन्द्र २०–२५ घरका युवाका साथ बिहे खान गएका थिए। तर विवाहमा गएकै दिन उनको शव राम्ली सामुदायिक वनको चिप्ले भीरको खोचमा फेला पर्यो। 

पीडित परिवारले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर घट्नामा संलग्न भएको आंशकामा केही व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय होलेरीमा किटानी जाहेरी दिँदा समेत प्रहरीले वेपास्ता गरेको मृतकका बुबा रुपलाल विकले बताए। ‘मृत भेटिएका राजेन्द्र भीरबाट लडेको जस्तो कुनै प्रमाण फेला परेको छैन, टाउको तथा शरीरभरी घाउ छन्। जमिनमा पनि कतै धस्किएको छैन’,पत्रकार सम्मेलनमा मृतकका बुबा रुपलालले भने,‘ अन्य ठाउँमा पनि रगत देखिदैन। भिरबाट खस्दा लगाएको ट्राउजर केही भएको छैन। उनको हत्या भएको छ।’

छोरालाई हत्या गरेर फालेको र घटनाका दोषीहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको पीडित परिवारको आरोप छ। 

यता भने प्रहरीले उक्त घट्नामा संलग्न भएको आरोपमा सुवास विकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। 

सुवासले प्रहरी बयानका क्रममा राजेन्द्रसँगै विहे खाएर फर्किने क्रममा तानातान गर्ने क्रममा भीरबाट खसेर राजेन्द्रको मृत्यु भएको प्रहरीमा बयान दिएका छन्। तर मृतकका परिवारले भने सुवासको बयान अस्वीकार गरेका छन्। 

प्रकाशित मिति: : 2023-03-02 12:32:00

प्रतिकृया दिनुहोस्