राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु, के-के गर्न पाइदैन ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आज (बुधबार)देखि निर्वाचन आचारसंहिता लागु भएको छ।

यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। साेही निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले आचारसंहिता लागु गरेको हो। आचारसंहिता आगामी चैत ५ गतेसम्म जारी रहने छ।

‘नेपालको संविधानको पालना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा निर्वाचनसम्बन्धी कानुन र आचारसंहिता पालनाको विषयमा प्रश्न उठ्नु कुनै पनि दृष्टिकोणबाट शोभनीय हुन सक्दैन,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

आयोगकाअनुसार ११ व्यक्ति, संघ संस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघ संस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।

सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। भने, कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत काम गर्न पाइने छैन।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनकाे लागि सत्ता गठबन्धनकाे तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेकपा (एमाले)काे तर्फबाट सुवासचन्द्र नेम्वाङले मनाेनय दर्ता गरेका छन्।

प्रकाशित मिति: : 2023-03-01 07:37:00

प्रतिकृया दिनुहोस्