हामी राष्ट्रपतिको निर्णायक भूमिकामा छैनौँ, कसलाई समर्थन गर्ने भन्ने छलफल भएकाे छैन: रास्वपा

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिको निर्वाचनमा आफूहरु निर्णायक भूमिकामा नरहेकाले यसबारे कुनै छलफल नभएको बताएको छ।

रास्वपाका सांसद गणेश पराजुलीले आफ्नाे पार्टीबाट राष्ट्रपतिको उम्मेदवार नभएकाले यस विषयमा कुनै छलफल नै नभएकाे बताए। 

‘हाम्रो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छैनन्। फेरि हामी राष्ट्रपतिको निर्णायक भूमिकामा पनि छैनौँ। त्यसैले अहिलेसम्म कुनै छलफल भएको छैन’, पराजुलीले बिएल नेपाली सेवासंग भने।

राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुन एक दिन मात्र समय रहेपनि रास्वपाले कसलाई समर्थन गर्ने भन्ने निष्कर्षमा नपुगेको उनको भनाई छ।

‘राष्ट्रपति महत्वपूर्ण विषय हो तर राष्ट्रपतिबारे केन्द्रीय समितिको बैठक भएको छैन', उनले भने, 'पार्टीले केही दिनमा निर्णय गर्ला, हामी अहिलेसम्म कसलाई समर्थन गर्ने कुनै पनि निर्णयमा पुगेका छैनौँ।’

सरकारले आफ्नो माग पूरा गर्न नसक्ने भएपछि सरकारबाट बाहिरिएको र तत्काल सरकारमा जाने/नजाने विषयमा कुनै छलफल नभएकाे सांसद पराजुलीको भनाई छ।

राष्ट्रपति निर्वाचनकाे लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने, फागुन १४ गते उम्मेदवारको मनोनयनविरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने कार्यतालिका रहेको छ। 

यस्तै फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2023-02-24 11:17:00

प्रतिकृया दिनुहोस्