उमेर नपुगिकन विवाह गर्नेको संख्या बढ्दै

फाइल तस्बिर
फाइल तस्बिर

शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्।

उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ। थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउछन्।

'थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ', उनले भने, 'बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन्।'

बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उनले बताए। उनका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ। मागी हुने बालविवाह कम हुँदै गए पनि भागेर गरिने विवाह अधिकांश बालविवाह नै हुने गरेका छन्।

बालविवाह गर्ने अधिकांशको सम्बन्ध बीचमै टुट्ने गर्दछ। बालविवाह गर्नेले दोस्रो विवाह गरेका घटनाहरू गाउँघरमा देखिँदै आएको सुनिता डगौराले बताइन्।

'केही वर्षअघिदेखि बालविवाहविरुद्ध महिला समूहमा आबद्ध महिलाले आवाज बुलन्द गर्दै आएका थियौँ', उनले भने, 'त्यसको प्रभावका कारण बालविवाह केही वर्ष रोएिको थियो, जनचेतना फैलाउने कार्य रोकिएसँगै पुनः बालविवाह हुन थालेका छन्।' गाउँका १० जना बढीले आधारभूत तहकै कक्षा ८ पढ्दै गरेका  बेला विवाह गरेको उनले बताए।

मुक्त कमैया परिवारको अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको उल्लेख गर्नुहुँदै उनले त्यसमै विद्यालय पढ्दै गरेका बालकले भगाएर बालिका भित्र्याउने गरेको बताए।

'यसबाट बालकले घरको खर्च धान्नका लागि विद्यालय बीचमै छाड्दै अभिभावकसँगै मजदुरीमा जानुपर्ने हुन्छ', उनले भने, 'समय नपुगीकनै बच्चा जन्मिन्छ, बच्चा जन्माउने आमा बिरामी हुने क्रम सुरु हुन्छ, सम्बन्धमा खटपट भई बालविवाह गर्नेले अर्को श्रीमती भित्र्याउँछन्, पहिला ल्याइएकी श्रीमती अलपत्र पर्छिन्।'

गाउँकै बालविवाह गरेकाहरूको उदाहरण दिँदै उनले भने, 'अठार वर्षमुनिका बालकले दुई वर्षअघि आफू उमेरकै बालिकालाई भगाएर ल्याएँ, श्रीमान् कमाउन भारततर्फ लागे, यता बालिकाले बच्चा पाइन्, भारत गएका श्रीमान्ले उतै दोस्रो विवाह गरेपछि, घरमा रहेकी श्रीमती अलपत्र परिन्। पछि उनले आत्महत्याको बाटो रोज्नुपर्यो।' अर्का १५ वर्षकै उमेरमा बालविवाह गरेका बालिकाको गर्भ रहे पनि दुईपटक बच्चा खेर गएको उनले बताए।

'उपचारमा धेरै रकम खर्च भए पनि सानै उमेरमा विवाह गर्ने किशोरीमा शारीरिक जटिलता देखिँदै आएको छ', उनले भने, 'सधैँ बिरामी भएर बस्नुपरेको छ।'

थारू अगुवा भागिराम डगौराका अनुसार बालविवाह गर्नेमा अधिकांश १४ वर्षदेखि १८ वर्षसम्मका किशोर–किशोरी बढी रहेका छन्। बालविवाह गर्नेमा मुक्त कमैया समुदायका किशोर–किशोरी बढी रहेका छन्।

बढ्दो मोबाइल र इन्टरनेटको प्रयोगले बालविवाह गराउनमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउछन्। 'फेसबुकलगायतका समाजिक सञ्जालमार्फत चिनजान गर्छन्', उनले भने, 'त्यही चिनजानका कारण सानै उमेरमा भगाएर किशोरी घरमा ल्याउँछन्।'

बीचमै विद्यालय छाड्ने बालकले मजदुरी जाँदा कमाउको पैसाले मोबाइल खरिद गर्ने गरेका छन्। बालविवाह गर्दा विवाह दर्तासँगै सानै उमेरमा जन्मेका शिशुको जन्मदर्ता नहुने गरेको उनले बताए।

'बालविवाह बढ्दै गएकाले जनचेतनाको कार्यलाई प्रभावीरूपमा फैलाउनुपर्ने बेला आएको छ', उनले भने, 'बडघर, जनप्रतिनिधिले सामाजिक कुरीतिलाई रोक्नका लागि लाग्नुपर्छ, स्थानीय तहले बालविवाहविरुद्धका कार्यक्रम ल्याउनुपर्ने हुन्छ।'

नौखरीस्थित जनभावना आधारभूत विद्यालयका प्रध्यानाअध्यापक पुष्पराज भट्ट मुक्त कमैया परिवारमा बालविवाह बढ्न थालेपछि विद्यालयमा पढ्दै आएका बालबालिकालाई बालविवाह गरेमा स्वाथ्यमा हुने हानीका बारेमा सचेत पार्दै आएको बताए।

बालविवाहकै कारण बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताए। 'गएको शैक्षिक सत्रमा मात्रै २४ जना बालबालिकाले विद्यालय बीचमै छाडेका छन्', उनले भने, 'विद्यालय छाड्नेमध्येका सात जना बढीले बालविवाह गरेका छन्।'

सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने गरेको उनको भनाइ छ। उनका अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ।

'बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन्', उनले भने, 'बालविवाहका कारणले बालिकाहरू शरीरिक, मानसिक, यौनिक र घरेलु हिंसाको बढी जोखिमा पर्ने गरेका छन्।'

मुुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ। उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ। बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ।

प्रकाशित मिति: : 2023-02-19 09:36:00

प्रतिकृया दिनुहोस्