सुत्केरीको स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो  स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ। 

आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो। उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयमा सुत्केरी महिलाले आफ्नो  स्वास्थ्य जाँच गर्ने क्रम बढेको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले बताए।

कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार नगदसहित एक क्रेट अण्डा दिने गरेको छ। सुनौलो हजार दिनलाई प्रभावकारी बनाउने र कुपोषित बच्चालाई लक्षित गरी दुई वर्षसम्मको बच्चालाई पोषणयुक्त खाना खुवाउने उद्देश्यले कार्यक्रम सुरु भएको हो। 

‘घर–घरमा झण्डा सुत्केरीलाई अण्डा’ भन्ने नाराका साथ कार्यक्रम सुरु भएको थियो। पालिकास्तरीय पोषण तथा कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त कार्यक्रम प्रभावकारी भएको पाइएको छ। 

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम  आजबाट सुरु भएको छ। तीन दिन चल्ने गोष्ठीमा  पालिका मातहतका १२ स्वास्थ्यचौकी प्रमुख, खाद्य तथा पोषणअन्तर्गत कार्यरत कर्मचारीको सहभागिता छ।  

प्रकाशित मिति: : 2023-02-02 20:46:00

प्रतिकृया दिनुहोस्