सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन्।

नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे। 

राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले उल्लेख गरे। 

वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे।

वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काङ्ग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए। सो अवसरमा नेता पौडेलले कांग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गरेका थिए।

प्रकाशित मिति: : 2023-01-31 21:35:00

प्रतिकृया दिनुहोस्