नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्मदाहकाे प्रयास गरेका इलामकाे फिक्कलका प्रेमप्रसाद आचार्य (सन्ताेष)काे बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरमा निधन भयाे। उनले आत्मदाहकाे प्रयास गर्नुअघि सामाजिक सञ्जालमार्फत सरकारप्रति निक्कै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याए पनि युवाहरु टिक्न सक्ने अवस्था नआएका बताएकाेप्रति असन्ताेष पाेखेका छन्।
प्रेमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नाम नै ताेकेर भनेका छन्,‘प्रचण्ड तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभामार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्नै नसक्ने बनायौँ।’
उनले अगाडि थपेका छन्,‘तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरुले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन। तिम्रो देश खाली हुनेछ। अनि, रित्तो देशको प्रधानमन्त्री बन्नु। र, ती १७ हजार सहिदलाई शासन गरेर बस्नु।’
प्रेमले उद्याेगीहरुले बैंकबाट कम व्याजमा लिएकाे ऋण चर्काे दरमा तिर्नु परेकाे तथ्य देखाउँदै बैंकहरुले अवलम्बन गर्दै आएकाे विद्यमान अवस्थाले देश नबन्ने दाबी गरेका छन्। ‘यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदैछ। कोही त आवाज उठाउनु होस ! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट ? यो सब उधारो बजार, अवैज्ञानिक कर नीति, पुँजी पलायन, शून्यप्राय विदेशी लगानी, पुँजी घर जग्गा र शेयरमा फ्रिज आदिले आएको समस्या हो। केही गर सरकार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सरकारलाई हालकाे दुखद अवस्थालाई सुधार गर्न अपिलसमेत गरेका छन्। ‘सबैमा अपिल ! यो देश गरी खान लायक बनोस्, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र, अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस्, विश्वाले पनि सुनोस। मेरो क्रान्ती हो यो। मैले माथि उल्लेख गरेका कुनै पनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाई प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनै पनि समस्याहरु ब्यक्तिगत होइनन्, सबैले भोग्दै आएका राष्ट्रिय समस्या हुन, किन कोही बोल्नुहुन्न ? मेरो आवाज सुनिदिनुहोस। म आफैंलाई मात्र मार्दैछु। अरुलाई नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्ने गरी सुनाउदैछु,’ उनले लेखेका छन्।
प्रेमले अगाडि लेखेका छन्,‘मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यही देशमा केही गर्न सकुँन् भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामनासहित बलिदान दिँदैछु...अल बिदा...’