प्रदेश १ मा ९ वटा मन्त्रालय कायम

प्रदेश १ मा मन्त्रालयको संख्या ९ वटा कायम भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको हो।

यसअघि राजेन्द्रकुमार राई प्रदेशको मुख्यमन्त्री हुँदा मन्त्रालयको संख्या १३ पुर्याएका थिए। तर, हिक्मत कार्की नेतृत्वको प्रदेश सरकाको पहिलो क्याबिनेटले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गरिसकेको थियो।

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ। 

यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय खारेज भएको मन्त्री  भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

मन्त्रालयहरुको नाम टुंगो लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको कार्यविभाजन पनि तोक्ने तयारी गरेका छन्।

प्रदेश १ मा हाल मुख्यमन्त्री कार्कीसहित ७ जना मन्त्री छन्। तर सबै मन्त्रीहरु अहिलेसम्म विना विभागीय छन्। एमालेका तिलकुमार मेन्याङ्बो र बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य,  राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बू सरकारका विना विभागीय मन्त्री छन्।

यस्र्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालको लागि भक्तिप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ।
 

प्रकाशित मिति: : 2023-01-20 18:41:00

प्रतिकृया दिनुहोस्