यी हुन् सभामुखको निर्वाचनमा अनुपस्थित सांसदहरू

प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ। प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो।

उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन्। संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन्।

प्रतिनिधिसभाले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरेको छ। बैठकमा भएको मतविभाजनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए। घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ। बैठकमा २६८ सांसद उपस्थित थिए।

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए।

घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो।

घिमिरे निर्वाचित भएसँगै न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी दिए। न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो।

नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ।

प्रकाशित मिति: : 2023-01-19 16:14:00

प्रतिकृया दिनुहोस्