गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ

File photo
File photo

लमजुङबाट निर्वाचित सांसद डा. टकराज गुरुङ गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन्। प्रदेश सभा सचिवालयबाट सार्वजनिक विवरणअनुसार प्रदेश सभाका ६० सदस्यमध्ये लमजुङ (क) १ बाट निर्वाचित सांसद गुरुङको शैक्षिक योग्यता सबैभन्दा बढी रहेकाे उल्लेख छ। 

डा. गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन्। संघीयता कार्यान्वयनपश्चात दुई पटक निर्वाचन भएकाे र यसरी निर्वाचित हुनेमध्ये विद्यावारिधी उपाधी अर्थात पिएचडी गर्ने गुरुङ पहिलो हुन्। अघिल्लो कार्यकालमा पनि गण्डकी प्रदेशका सांसदहरूको उच्चतम शैक्षिक योग्यता स्नातकाेत्तर मात्रै थियो। 

राजनीतिमा नीति, नियम, ऐन बनाउनेदेखि प्रदेशको समृद्धिका लागि शैक्षिक योग्यता महत्वपूर्ण हुने सरोकारवालाहरुको बुझाई छ। बदलिदो परिस्थितीलाई समयानुकुल नीति निर्माण, आधुनिक प्रविधिको प्रयोग, विकास र समृद्धिका लागि पनि शैक्षिक योग्यता भएको जनप्रतिनिधि आवश्यक पर्ने सरोकारवालाहरू बताउँछन्।  

काग्रेस लमजुङको सभापति समेत रहेका डा. गुरुङ पर्यटनविद् र कुशल योजनाकार हुन्। पर्यटन क्षेत्रको विकासका सम्भावनाहरू र ग्रामीण पर्यटनको विषयमा डा. गुरुङसँग विशेष विज्ञता छ। ग्रामीण पर्यटनमार्फत अर्थतन्त्रको विकास गर्न सकिने विभिन्न किसिमका योजनाहरू आफूसँग रहेको डा. गुरुङ बताउँछन्। 

आफू गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै लमजुङसहित प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका पर्यटकीय श्रोत र सम्भाव्यताको पहिचान, प्रवर्द्धन र विकास गरी अर्थतन्त्र सुदृढिकरणका लागि ज्ञान क्षमताको सदुपयोग गर्ने डा. गुरुङले बताए। ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा विज्ञतालाई प्रयोग गरी पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्न सकिने डा. गुरुङको विश्वास छ। 

गण्डकी प्रदेश सभामा लमजुङबाट निर्वाचित डा. गुरुङ बाहेक नौ जना सांसद स्नातकोत्तर उत्तिर्ण छन् भने १६ जनाले स्नातक हासिल गरेका छन्। यसैगरी प्रमाणपत्र तह र एसएलसी उत्तीर्णमा १६/१६ जना रहेका छन्। दुई सांसद साक्षर छन्। 

प्रदेशसभा सचिवालयका अनुसार एमालेका ६, कांग्रेसका दुई र माओवादी केन्द्रका एकजनाले स्नातकोत्तर गरेका छन्। स्नातकोत्तर गर्नेमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, एमालेकै लिलबहादुर थापामगर, सुधिरकुमार पौडेल, सीताकुमारी सुन्दास, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी रहेका छन्। यसैगरी कांग्रेसका डिल्लीराम सुवेदी, जीतबहादुर शेरचन र माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पनि स्नातकोत्तर गरेका छन्।

स्नातक तह उतिर्ण गर्ने सांसदमा कांग्रेसका नौ र एमालेका सात जना छन्। प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गर्नेमा कांग्रेसका नौ, एमालेका पाँच र माओवादी केन्द्रका दुईजना सांसद छन् भने एसएलसी उत्तिर्ण सांसदमा कांग्रेस र माओवादीका पाँच-पाँच जना, एमालेका चार र राप्रपाका दुई जना रहेका छन्। 

प्रदेशसभा सचिवालयले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यको व्यक्तिगत विवरण फाराम भर्ने क्रममा सांसदहरूले आफ्नो शैक्षिक योग्यता खुलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभामा सबैभन्दा बढी कांग्रेसका २७, एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन्। ०७४ को निर्वाचनमा भने आठ जना स्नातकोत्तर र २१ जना स्नातक उत्तीर्ण थिए। १७ जना प्लस टु तथा प्रमाणपत्र तह र सातजना प्रदेशसभा सदस्य एसएलसी उत्तीर्ण थिए। एसएलसीभन्दा कम पढेकामा सातजना थिए।

प्रकाशित मिति: : 2023-01-19 13:16:00

प्रतिकृया दिनुहोस्