सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते  बिहान ११ बजे  गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची सोही दिन ४.१५ बजे प्रकाशित गरिने छ। 

प्रतिनिधिसभाको  माघ ५ गते ११ बजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो।
 
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एकजना महिला  र फरक दलको हुनुपर्नेछ। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वाेच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ।

प्रकाशित मिति: : 2023-01-17 16:01:00

प्रतिकृया दिनुहोस्