लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्विरोध, उपसभामुखमा ३ जना उम्मेदवार

लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ। 

सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ।  नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ। उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ। कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन। कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्। 

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ।

प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन्।

प्रकाशित मिति: : 2023-01-16 19:35:00

प्रतिकृया दिनुहोस्