खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे।
ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे। परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो। तर अहिले ती घरले रुपरङ बदलेका छन्। बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन्।
गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन्। युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ।
निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आएकी छिन्। आर्थिक अभावमा गुज्रिँदै आउनुभएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो।
वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उनलाई राहत मिलेको छ। वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उनी बताउछिन्।
'एकै वर्षमा खर कुहिन्छ', उनले भनिन्, 'अब त छानो फेर्न नपर्ला कि ?'
विगतमा खरको समस्याले पानी चुहिने अवस्थामा पनि छानो फेर्न नसकेको वडा नं ५ का तिलकुमार विक बताउछिन्। गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि उनी हर्षित भएकी छिन्। 'अब ढुक्क भइयो, आगलागी हुने डर पनि कम भयो', विकले भनिन्।
निसीखोलाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। गाउँपालिकाले अघिल्ला वर्षमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको थियो। 'यस वर्ष बाँकी रहेका घरमा जस्तापाता हाल्ने क्रम जारी छ', उनले भने।
गाउँपालिकाले सात वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जनाको घरमा अघिल्लोपटक जस्तापाताको छानो हालिएको थियो।
'हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसैले गाउँपालिकाले नै जस्तापाताको छानो हाल्न थालेको हो', गौतमले भने।