बिग्रीएको बाटोमा बतासले धुलो उडाउँछ
विचारो चालकले जसोतसो गाडी गुडाउँछ
आफन्त भेट्न जाने, यमराजले पो हो कि लाने ?
हिउँदमा धुलो छ, बर्षे खाल्डामा गाडी डुबाउँछ’
साहित्यकार डा. लोकराज पराजुलीले अलपत्र परेको घोराही-तुलसीपुर सडकखण्डमाथि व्यंग्य गरेर सडकमै रचना वाचन गरे।
सचेत नागरिक दाङले मंंगलवार चार वर्षदेखि अलपत्र परेको घोराही- तुलसीपुर सडक छिटाे निर्माण गर्नका लागि दबाब दिन आयोजना गरेको सडक कविता बाचनमा साहित्यकार पराजुलीले उक्त रचना सुनाएका हुन्।
अलपत्र परेको उक्त सडक निर्माण कार्यलाई रचनात्मक ढंगले दबाब दिन गरिएको सडक कविता बाचनमा अन्य कविहरूले पनि ब्यङ्ग्य गर्दै सडकबारे कविता बाचन गरे।
कवितामा उनीहरुले सडक नबन्दा सर्वसाधारणले भोग्नु परेको सास्तीलाई चित्रण गरे भने सरकार र निर्माण व्यवसायीमाथि चोटिलो व्यंग्य गरे। कार्यक्रममा साहित्यकार कमलमणी देवकोटा, लक्ष्मी बुढाथोकी, श्रवण नेपाली र सुदन पाैडेलले कविता बाचन गरेका थिए। त्यस्तै कुवेर गन्धर्व र विक्रम गन्धर्वले संगित भरे।
उक्त अभियानको नेतृत्व गरेका ४ मंसिरमा सम्पन्न अाम निर्वाचनमा दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विशाल अधिकारीले वर्षाैदेखि अलपत्र परेको सडकबारे दबाब दिने उद्देश्यले सडक कविता बाचन गरिएको बताए।
‘वर्षाैदेखि सडक नबन्दा सर्वसावधारणले धुलो खानु परेको छ। खाल्डामा परेर ज्यान गुमाउनु परेको छ’ उनले भने, ‘तर सरकार र ठेकेदवार बेखबर छन्। हामीले आन्दोलन नगरेर शान्तिपूण रुपले सडक बनाउन दबाब दिन खोजेका हौं।’
नागरिक समाज दाङका संयोजक केवि मसालले जिल्लाको मुख्य सडकखण्ड धराप बन्दा पनि नेताहरू जिम्मवार बन्न नसकेकाे बताए। सडक नबन्दा जनताले जीवनको मुल्य चुकाउनु परेको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माण कार्य अघि बढाउन युवाहरूले दबाब दिनु पर्ने बताए।
घाेराही- तुलसीपुर सडक समयमै नबन्दा यस सडकमा २४ जनाले ज्यान गुमाएका छन्।