जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–१ डुमरी शिवथान टोल बस्ने ३० वर्षीय मनोज साह, सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष भन्ने श्रीराम यादव र २५ वर्षीय दिपेन यादव रहेका छन्।
उनीहरुको साथबाट साइकल १ थान, बोरिङको सकेट ३ थान, कल २ थान, तारसहितको कृषि मिटर १ थान र पानी तान्ने प्लाष्टिकको पाइप १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन्।
पक्राउ परेका तीनै जनालाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सिंहले बताए। उनीहरुले पुस २० मा राजविराज नगरपालिका–१ डुमरी शिवथान बस्ने राजकुमार साह, सोही ठाउँका रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साहको खेतमा रहेको कृषि मिटर, बोरिङको सकेट, पाइप, कल तथा राजकुमार साहको घरबाट साइकल समेत चोरी गरेको प्रहरीको भनाई रहेको छ। पछिल्लो केही दिन यता जिल्लामा चोरीका घटना बढेका छन्।