भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि गम्भीर छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्।

आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्ता बताएका हुन्। छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए।

प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ। नेपाल सरकारका सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु। जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्। अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ। त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ।’

‘सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘सुशासनको कुरा राज्यको आम जिम्मेवारी होे। यसमा सरकार गम्भीर छ। भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन। यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो। आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ। भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ। त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु।’

प्रधानमन्त्रीले भने, ‘क्याबिनेटको पहिलो बैठकमा पनि सुशासनको विषय गम्भीर रूपमा गरिएको छ। सुशासन र समृद्धिका निम्ति सरकार गम्भीर भएर लाग्छ। यसमा यहाँहरूको थप सहयोग चाहिन्छ। आयोगका लागि चाहिने सबै सहयोग सरकारका तर्फबाट हुन्छ। ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्छ।’

‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन। सुरक्षा अंगको कार्यक्षमता पनि राम्रो छ। तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमि र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न सकिएको छैन। यसपटक सही नेतृत्व र सही व्यवस्थापन गरिन्छ।’

प्रकाशित मिति: : 2023-01-08 13:39:00

प्रतिकृया दिनुहोस्