म्यान्मारको सैन्य ‘जुन्ता’लाई नेपाल सरकारले मान्यता दिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ‘कू’मार्फत् नागरिक सत्ता हत्याएको सैनिक सरकारलाई मान्यता दिएका हुन्।
प्रजातन्त्रवादी नागरिकले बहिस्कार गरेको म्यान्मारको ७५औँ स्वतन्त्रता दिवसमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डले सैनिक तानाशाहलाई शुभकामना सन्देश पठाएका छन्।
‘म्यान्मारको ७५औं हीरक स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रिय मित्र (जेनरल), शहीद र म्यान्मारका सम्पूर्ण नागरिकलाई स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रिय मित्रलाई सु–स्वास्थ्यको कामनासहित म्यान्मारका सम्पूर्ण जनताको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ,’ म्यान्मार सेनाको मुखपत्र ‘म्यान्मा अलिनो’ पत्रिकामा पत्र छापिएकाे छ।
नेपाल सरकारले म्यान्मारमा बन्दुकको आडमा शासन चलाइरहेका सैन्य नेता जेनरल मिन आङ ह्लाइङको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
म्यान्मारकाे सैन्य सरकारले प्रदर्शनमा उत्रिएका तीन हजारभन्दा बढी प्रजातन्त्रवादी नागरिकको हत्या गरेकाे छ। हजारौँ बर्मेलीहरूलाई सैन्य जेलमा थुनेकाे छ।
म्यान्मारमा ‘प्रजातन्त्र र स्वतन्त्रता’ खोसेर शासन सत्ता चलाइरहेको सैनिक सरकारलाई ‘स्वतन्त्रता दिवस’मा नाउमा नेपालसहित रसिया र कम्बोडियाले पनि शुभकामना सन्देश पठाएका छन्।
सेनानिकट मानिएको चीन र छिमेकी देश भारतले भने यसपालि म्यान्मारको सैनिक सरकारलाई बहिस्कार गरेको बर्मेली–नेपालीहरूले बताएका छन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डले सैन्य सरकारलाई मान्यता दिएपछि म्यान्माली जनताले दुःख व्यक्त गरेका छन्। उनीहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशसमेत फिर्ता लिन आग्रह गरेका छन्।
म्यान्मारको सैन्य ‘कू’लाई नेपाल सरकारले मान्यता दिएपछि नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले खेद व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डले गरेकाे समर्थनप्रति निन्दा गर्दै उनले भने, ‘यो सरकार प्रजातन्त्र र लोकतन्त्रप्रति प्रतिबद्ध छैन भन्ने प्रमाण हो।’
तानाशाहहरुको उदाहरण- आफू जस्तै लाई मान दिनु के नै ठूलो कुरा हो र?सत्ता पोल्टामा पार्न १७००० भन्दा बढिको शरिर होम्नु, कैंयौ कोख रित्याउनु, सिन्दुर खोस्नु जाबो के भनि राखौं🤔समुद्र पारी भांचिएर चोट सहेका प्रत्येक नागरिकहरु कठपूतली हुन्।कमसेकम मानवता नै मनमा देखाएर बसेको भए हल्का मान रहन्थ्यो।यस्ता शाशक नै सिंगो देश हाक्ने ठांउमा छ भने दुख लाग्यो नेपाल… तिमीले आज पनि एउटा सपूत भेटिनौ🙏🏼