२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट लाेकप्रिय मतले विजयी भए। उनले २२ हजार ८ सय १९ मत प्राप्त गरी इतिहास रचे।
उत्पादन सम्बन्ध र भ्रष्टाचार विरोधी नारालाई पेचिलो बनाएका उनले काफी जनताको मन जितेपछि मतपरिणाम उनकाे पोल्टामा पर्यो।
'दबिएर रहेको जुम्लाको आवाज अब दबिनेवाला छैन। जुम्ला बोल्छ। हामी स्वर्गजस्तो भूमिमा बसेर नर्कजस्तो जीवन बिताइरहेका छौं। हाम्रोमा सुन फल्छ, त्यसलाई नुनको दाममा बेच्न नपाएर हामी गरीब भएका हौं', भनेर सार्वजनिक मञ्चमा बाेल्ने शाहीले 'अब जुम्लाले याे देशकाे नेतृत्व गर्छ' भनेका थिए।
उनकाे याे नाराकाे अन्तर्य भनेकाे कम्तिमा जुम्लाले क्याबिनेट मन्त्री पायाे भने देशकाे नेतृत्व हुन सक्छ भन्ने उनकाे मत थियाे।
आकारमा सानाे पार्टी राप्रपाले मन्त्री पाउने सम्भावना कम छ नि भनेर साेधेकाे प्रश्नमा, 'संसदीय व्यवस्थामा देशकाे नेतृत्व गर्न एक सिट मात्रै जितेकाे पार्टीले पनि सक्छ' भनेका थिए।
सुरुदेखि नै दृढ विश्वासका साथ चुनावी मैदानमा हाेमिएका शाहीले आफू जित्ने र मन्त्री बने मुलककाे नेतृत्व जुम्लाले गर्ने भनेर बारम्बार भनिरहे।
पार्टीको प्रवक्ता, पदाधिकारी, कार्यसम्पादन समितिकाे सदस्यसमेत र विभागीय प्रमुख रहेका उनलाई यदि राप्रपा सरकारमा गएकाे खण्डमा मन्त्री हुन सक्ने पात्रको रुपमा हेरियाे।
उनले चुनावपछि राप्रपा सरकारमा जाँदा त्यसकाे नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नभइ दाेस्राे तहका नेताले गर्ने बताएका थिए। महत्वपूर्ण बैठकमा अध्यक्षले सरकारकाे नेतृत्वकाे जिम्मेवारी आफूहरुलाई दिने बताएका थिए। यसरी उनले आफू जित्दा देशकाे नेतृत्व जुम्लाले गर्ने बताएका थिए।
उनले दलीय व्यवस्थाले जुम्लालाई हालसम्म एउटा क्याबिनेट मन्त्री नदिनु दु:खद भएकाे बताउँदै पञ्चायतपछि पहिलो पटक जुम्लाले मन्त्री पाउने सार्वजनिक घाेषणा गरेका थिए।
पञ्चायतमा हरिश्चन्द्र महत मन्त्री बनेका थिए। निकै सानाे आकारकाे मन्त्री मण्डल हुने पञ्चायती व्यवस्थामा जुम्लाकाे पहुँच थियाे। तर, पञ्चायतभन्दा कयौं गुणा प्रगतिशील कहलिएकाे व्यवस्थामा जुम्ला अगाडि आउनै पाएन। यसैलाई सांसद शाहीले मत प्राप्त गर्ने गतिलाे हतियार बनाए।
ठुला नेता भएकाे क्षेत्रकाे विकास हुने बताएका उनले चेन अफ कमान्ड मान्ने माओवादीमा जनार्दन शर्मा र गजेन्द्र महतकाे तुलना गर्दै भनेका थिए, 'यहाँनेर गजेन्द्र महत जनार्दनकाे ठाउँमा किन पुग्न सक्नुहुन्न त? त्यसकाे गुदी कुरा भनेकाे व्यक्ति प्रमुख हाे। पार्टी गाैंण हाे। ठिक यसरी म आफ्नै कुरा गर्न चाहन्छु। म अहिले राप्रपाकाे प्रवक्ता हुँ। मभन्दा माथि औंलामा गन्ने नेता मात्रै हुनुहुन्छ। त्यसैले म जित्दा जुम्लाकाे विकास हुन्छ।'
उनले राप्रपामा प्राप्त गरेकाे पदीय हैसियत बराबर जिल्लामा नेपाली काँग्रेस, एमाले, माओवादी, नेपाल मजदुर किसान पार्टी, एकीकृत समाजवादी पार्टीबाट काेही पनि नभएकाे बताउँदै आफू जिल्ला र देशकाे लागि उच्च पदस्त नेतृत्व भएकाे दाबी गरेका थिए। यी विविध कारणलाई उनले जुम्लाले देशकाे नेतृत्व गर्न सक्ने आधार बताएका थिए।
जुम्लाका लागि आवश्यक नीति निर्माण गर्ने र विकास निर्माणका गतिविधिमा अनुगमन गरेर पारदर्शीता कामय गर्ने, अहिले विकास निर्माणमा भइरहेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्ने, सडक, पुललगायतका भाैतिक पूर्वाधारहरु गुणस्तरीय बनाउँदा जुम्ला विकास हुने बताएका उनले मसिना कुराबाट जनतालाई निकै आशावादी बनाएका थिए।
उनले आफ्नाे बोलीलाई व्यवहारमा उतार्न सुरुमा जिल्लाका सबै ठाउँमा बिजुली पुर्याउने, स्थानीय उत्पादनसँग सम्बन्धित उद्योग खोल्नलाई वातावरण बनाउनेलगायतका काम आफूले गर्न सक्ने बताएका थिए।
कृषिमा उत्पादनलाई बजारसम्म पुगाउने व्यवस्था मिलाउने, तेल पेल्ने मिल गाउँ–गाउँमा राख्ने, मास प्रडक्सनका निम्ति ठुला उद्योग खोल्ने, चोतोको असुरो बनाउने र त्यसको ब्रान्डिङ गर्ने लगायतका काम मन्त्री हुँदा पनि नहुँदा पनि गर्न सकिने बताएका थिए।
तर उनले 'जुम्लाले याे देशकाे नेतृत्व गर्छ' भन्नुकाे अन्तर्य मन्त्री बन्नु हाे र उनलाई जुम्लीले मन्त्री हुन्छ भनेर नै मत दिएका हुन्।
चुनावपछि देखिएकाे देशकाे सिनारियाेले राप्रपा सरकारमा सहभागी हुन्न भन्ने थियाे। तर, देशमा विकसित पछिल्लो परिस्थितिले राप्रपा सरकारमा जाने भएकाे छ। जनताले ज्ञानेन्द्र शाहीलाई मन्त्री हाेस् भनेर नै मत दिएका हुन्। हेराैं, राप्रपाले जनताकाे मतलाई कत्तिको कदर गर्छ!
जुम्लीलाई मजैले जिल्याएछन् । इतिहासमै जुम्लाले गलत निरणय गरेको थियो यसपटकको आमनिर्वाचनमा । त्यसको लागि जुम्लीहरू अभिसप्त हुनेछन् । गणतन्त्रको निम्ति लडेको जुम्लाले हलोमा मत हालेर एक राजतन्त्रवादी गफाडीलाई जिताएपछि यो त हुनु नै थियो । यो कलंकको टीका जुम्लीहरुको निधारमा सधैंभरी लागिरहने भयो । हाम्रोतिर भित्री बाठो मान्छेलाई कस्तो जुम्ली जस्तो बाठो मान्छे भनेर सम्मान गर्छन्। यसको अर्थ लामो समयका लागि सोच्ने मान्छे भन्ने हो । तर, जब जुम्लीहरूले ज्ञानबहादुरलाई रोजे, तब मानिसहरू भन्न थाले, हिजोका जुम्ली अर्कै जुम्ली आजका जुम्ली ज्ञानबहादुर जुम्ली !