पुसमा अत्यधिक चिसो हुनाले 'पुसको जाडो हाइहाइ' भन्ने चलन छ। तर चिसो पुसलाई अझ चिसो बनाउने गरी हिउँ आइदिनु किसानका लागि सबैभन्दा सुखद क्षण हो।
विशेष गरी हिउँदे बालीहरु जौ, गहुँको लागि त हिउँको पानी रगत बराबर मानिन्छ। जसले प्राण धान्नमा ठूलो भूमिका निभाउँछ। त्यसैले पुस १५ भन्दा अगाडि नै हिउँ परे हुन्थ्याे भन्ने किसानको चाहना हुन्छ। हिउँ पराेस् भनेर कामना गरिन्छ।
पुसमा हिउँ पर्दा हिउँदे बालीलगायत वर्षे फलफूलहरु स्याउ, आरु, ओखर, नास्पाती राम्राे हुन्छ। तर पुस १५ सम्म पनि हिउँ परेन भने किसानहरु सरग(आकाश) तिर हेर्न थाल्छन्।
पुसकाे हिउँसँगकाे एउटा राेचक मिथ पनि छ। पुस १२ गतेका दिन बेल्कुनी माइत जाने गर्छिन्। उनी चार दिनसम्म माइत बस्छिन्। पुस १६ गते माइतबाट फर्किँदा उनले हिउँ नासो ल्याएर आउँछिन्।
पुस १२ देखि १६ गतेको बीचमा हिउँ आएको खण्डमा बेल्कुनीले जस पाउँछिन् भने हिउँ नआएको खण्डमा त्यो वर्ष अनिकाल लाग्न सक्ने अनुमान गरिन्छ।
बेल्कुनी काे हुन्? कसैलाई थाहा छैन। माइत जानलाई काेसँग बिहे गरेकी हुन्छिन्? यसकाे पूरा कथा पनि छैन। यत्ति अस्तित्वमा छ कि उनी पुस १२ गते माइत जान्छिन् र १६ गते फर्की आउँछिन्। तिनले मान्छेलाई लगाउने ठूलो गुन भनेकाे हिउँ ल्याएर आउनु हाे।
बेल्कुनीलाई खुसी बनाउन पुस १२ र १६ गतेका दिन घरको चुलो खाली नगर्ने गरिन्छ। त्यो दिन घरमा मकै, सिमीको कोल लगाएर बेलुका घर–परिवार सबैले खाने गरिन्छ।
हिउँसँगका कयौं दु:खहरु छन्। अत्यधिक जाडाे हुँदा मान्छे र उनले पालेका जनावरहरुले निकै सास्ती खेप्नुपर्छ। तर हिउँ आएर खेपेकाे छाेटाे समयकाे दु:खले वर्षदिनका लागि सुख निम्तिन्छ।
पुसका चिसा रात कर्णालीका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छन्। बेल्कुनी माइत जाँदै गर्दा माइतमा रहेकी छाेरीहरु जाेवन खाने तन्नेरी छाेज्छन्। त्यसैले पुस प्रेमकाे माैसम मानिन्छ।
त्यसका लागि राति केटाकेटीहरु गाेठमा खेल्न जाने गर्छन्। घरका मालिक नभएकाे, घरदेखि टाढा रहेकाे गाेठमा गएर केटाकेटीले खेल लगाउनु, गीति सवाल जवाफमा माया प्रेमका कुरा गर्नुले पुसका रातलाई प्रेमिल रात पनि भन्ने गरिन्छ।
तर, पछिल्लो समय बाह्य संस्कृतिकाे प्रभाव, प्रविधिकाे विकास आदि कारणले केटाकेटीहरु गाेठमा खेल्न जाने क्रिया पुरै ठप्प भएकाे छ।
युद्धकालमा गाेठमा खेलिरहेका केटाकेटीलाई माओवादीले गाउँ घुमाउने, बेइज्जत गर्ने आादि काम गरेपछि याे लामाे समयकाे अभ्यास पछि निर्मित संस्कृति मासिएकाे छ।
त्यसैले आजभोलि बुढापाकाहरु बेल्कुनी माइत जान्छन्, हिउँ नासाे ल्याएर फर्किन्छन् भन्छन्। काेही काेही घरमा दिनभरी चुलाे खाली पनि हुँदैन। तर अधिकांशले यी संस्कृतिबारे चासाे लिने गरेकाे देखिँदैन।
याे राेचक संस्कृति कसरी निर्माण भयाे? यी बेल्कुनी काे हुन्? याे अध्ययनकाे विषय हाे। तर खासगरी यही समयमा पानी किन पर्छ? त्याे चाहिँ अध्ययन भइसकेकाे कुरा हाे।
दक्षिण एशियाली क्षेत्रको हिउँदे पानीलाई प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिले असर गर्छ। प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट नेपाल छिरेपछि त्यसले हिउँदे वर्षा गराउँछ।
तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यो वर्ष पानीको तापक्रम औसतभन्दा कम हुन पुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन भने हिउँ वर्षा हुँदैन।
यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम हुने माैसम विज्ञहरुले बताइरहेका छन्।
जलवायु परिवर्तनले सबैभन्दा बढी असर कृषि क्षेत्रमा पार्छ। चाहिएको बेलामा पानी नपर्दा सुक्खापन बढेर जान्छ। हिउँदे वर्षा नहुँदा कृषि उत्पादनमा घट्छ।
हिउँदमा वर्षा कम हुँदा वातावरण, प्रकोप र कृषिका क्षेत्रमा विभिन्न प्रभाव पर्छ। यसले श्वास फेर्नै नसकिने गरी वायु प्रदूषित हुन्छ। र त हिउँ परिदेवस भनेर किसानहरु सरगतिर हेर्छन्। बेल्कुनीकाे नासाे कुरी बस्छन्।