बिकिनी किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन्। केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराज १९ वर्षपछि शुक्रबार जेलमुक्त भएका हुन्।
सर्वोच्च अदालतले बुधबार शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएसँगै शोभराज रिहा भएका हुन्।
जेलमुक्त भएका शोभराजलाई केन्द्रीय कारागारले अध्यागमन विभाग पठाएकाे छ।
दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्।
शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको भन्दै सर्वोच्चले छाड्न आदेश दिएकाे थियाे।
फ्रान्सेली नागरिक शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।