२५ वर्षीया गंगा उप्रेती सधैँजसो महानगर प्रहरीकाे बर्दी लगाएर नयाँ जोस र जाँगरका साथ ‘ड्युटी’काे लागि टेकुस्थित बागदरबारमा हाजिर हुन्थिन्। हरेक दिन उदाउने सूर्यकाे किरणजस्तै गंगाकाे दिनकाे सुरुवात पनि नयाँ, जाेस र अभिलाषासहित हुन्थ्याे। काठमाडौँको विकासका लागि मेयर बालेन्द्र साहको दूरदृष्टि देखेर उनको हौसला झनै चुलिन्थ्याे। ७ महिनाअघि आमा बनेकी गंगा त्यसबखत पनि महानगर प्रहरी प्रमुखको कार्यालयमा आफ्नो ड्युटी गर्थिन्। ३० दिने सुत्केरी बिदामा बसेर कार्यालयमा हाजिर हुँदा उनलाई मौखिक रुपमा टेकुस्थित कार्यदल शाखामा सरुवा गरियाे।
‘डेलिभरी’को क्रममा सल्यक्रिया गरिएकाे हुँदा शारीरिक अवस्था कमजाेर भएकी गंगा आफ्नो कार्यस्थलका अविभावक प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे कहाँ गुनासो पोख्न गइन्। शारिरिक अवस्था कमजाेर भएकी उनले कार्यदल शाखामा रहँदा बालकलाई स्तनपानको समयसमेत नमिल्ने गरेकाे भन्दै टेकुस्थित आफ्नै कार्यालयमा पुन: सरुवा गर्न पाण्डे समक्ष आग्रह गरिन्। गंगाको गुनासो सुनेर सहानुभूति दिनुको सट्टा पाण्डेले उल्टै ‘घरको समस्या घरमै राख्ने, ड्युटी गर्ने अरु कुरा मलाई थाहा छैन’ भन्दै गंगाको आशा र आकांक्षा त्यही बाघदरबारको पुराना गोरेटोमुनि दफ्नाइदिए।
गंगाले केही दिनपछि फेरि आफ्नो समस्या पाण्डेलाई सुनाउँदा ‘आफूले रहरले पाएको बच्चा कसरी हुर्रकाउने हो आफैं गर्ने, १२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानु,’ भनि गंगामाथि आइलागे।
७ महिनाअघि शल्यक्रिया गर्दाताकाको ताजा घाउ लिएर एउटा सुत्केरी आमाले कार्यदलको काम गर्न असफल भएपछि उनलाई पाण्डेले पटक–पटक बोलाएर अपशब्द प्रयोग गर्थे। गंगालाई बारम्बार बोलाएर उनको चरित्रमाथि औंला उठाउने, तथानाम गाली गर्ने र ‘तैले मेरो बच्चा पाको होस् र ? तैंलेजस्तो भन्याे त्यस्तै ड्युटी मिलाउनलाई ?, जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिने’समेत भनेर गाली गर्थे।
तल्लाे तहका प्रहरीलाई उनीहरुको अविभावक भनिएका राजु पाण्डेको अमानवीय रुप देखेपछि आफूलाई मानसिक तनाव हुन थालेको उनी बताउँछिन्।
पाण्डेले अरु कर्मचारी वरपर भएको बेला गंगालाई ‘साविक’ ड्युटीमा पठाउने र कोही नभएको बेला उनीमाथि अपशब्द प्रयोग गरी थर्काउने गरेकाे गंगाले बिएल नेपाली सेवासँग गुनासाे पाेखिन्। गंगाले निकै असहाय महसुस गरेर आफ्नो ‘सिफ्ट कमान्डर’हरु कहाँ गुनासो पोख्दा ड्युटी समय मिलाइदिने वाचा गरे पनि पाण्डेले व्यक्तिगत रिसिबीका कारण ‘तैंले ड्युटी गर्ने भए १२ घण्टा कार्यालय ड्युटी गर्ने, नत्र राजीनामा दिएर जा!’ भनि उनीमाथि हावी हुन्थे। त्यति मात्र नभई आफूलाई पाण्डेले हाजिरसमेत गर्न नदिएको उनी बताउँछिन्। पाण्डेले बाघदरबारमा मात्र होइन, अरु वडा कार्यालयमा पनि हाजिर गर्न जान्छ कि भनेर एउटी दूधेबालकको आमामाथि निगरानी राख्न मान्छेसमेत खटाए।
असाेज १४, शुक्रबार। उनलाई बिहान सबेरै उपस्थित हुन भनेर पाण्डेको कार्यालयबाट फोन आयो। उनी एक्लै जान सकिनन्। पाण्डेले महिनौँदेखि दिएको मानसिक यातना सम्झिँदा डर लागेको एक्लै कार्यालय जान नसकेकाे बताउँछिन्। असुरक्षित महसुस भएर उनले आफ्नो ७ महिने बच्चा र श्रीमानलाई लिएर पाण्डेको कार्यालयमा उपस्थित भइन्।
गंगाको सानो परिवार देख्ने बितिकै पाण्डेले उनीमाथि अपशब्द र गाली प्रहर गरे। आफ्नो नाबालकलाई गाली गरेको देख्दा गंगाले सहन नसकी ‘हुन्छ म राजीनामा दिन्छु’ भन्दा पाण्डेले ‘सिपाही, हवल्दार भएर ठुलो कुरा गर्ने होइन, यो जागिर नभए भात खान पाउँदैनस्। म ड्युटी मिलाउँदिनँ के गर्छस’ भनी उनकाे श्रीमानमाथि पनि औँला उठाइ तँ-तँ गर्दै अभद्र व्यवहार गरे। त्यति मात्र नभई उनको श्रीमानलाई ‘तेरो स्वस्नीलाई ड्युटी नपठाए तँलाईं खान पुग्दैन’ भन्दै बसेको ठाउँबाट उठेर उनलाई हात हाल्नसमेत गए। बर्दी लगाएको कारण गंगाको श्रीमानले आफ्नो मोबाइल झिकी भिडियो बनाउन थाले। भिडियो खिचेको भन्दै ८-१० जना बोलाएर उनीमाथि पाण्डेले हातपात गरेर बर्दी च्यात्दै शरीरमा घाउ/चोटसमेत लगाए। ‘उहाँले हामीमाथि त्यतिबेला निक्कै अभद्र व्यवहार गर्नुभयाे, त्यतिबेला हामीलाई त गाह्राे भयाे भयाे सानी बच्चासमेत ४ दिनसम्म बिरामी परिन्,’ गंगाले भनिन्।
श्रीमानको हातबाट मोबाइल खोसेपछि उनलाई पुलिस बोलाएर जेल हाल्ने धम्की दिएर पाण्डेले आफ्नो गाडी लिएर कार्यालयबाट बाहिरिए। पाण्डेले दिनेश अर्याललाई फोन गरी गंगाको श्रीमानको माेबाइलको ‘पिन’ मागेर भिडियो डिलिट गर्न लगाए। त्यसपछि उनको मोबाइल जफत गरियो र ‘भोलि लिन आउनु’ भनेर गंगालाई घर पठाइदिए। भोलिपल्ट कार्यालय पुगेर फोनको खोजी गर्दा ‘साँखुमा छ’ भनि उनलाई कार्तिक १७ गते लिन बाेलाइयाे।
बाेलाएअनुसार उनी आफ्नी बहिनीसँग साँखु पुग्दा उनलाई देख्ने बितिकै ‘यो...लाई कसले यो अफिसमा बोलायो, यहाँबाट बाहिर निकाल्। यस्तो मान्छेको काम छैन’ भन्दै उनलाई धम्की दिएर अपमान गरी दुई घण्टा बाहिर उभ्याएर बल्ल फोन दिए। भिडियो डिलिट गरेर कारवाहीको लागि मुद्धा अघि बढाएको भनि उनको तलब पनि रोक्का गरिएकाे त्यहाँ पुगे उनले थाहा पाइन्।
त्यस्तो अपमान, ज्यादती र दमन सहेर काम गर्नुभन्दा राजीनामा दिनु उनले उचित ठान्दै राजीनामा पत्र लेखेर प्रशासनमा बुझाइन्। तर, प्रशासकीय अधिकृतले उनलाई न.प्र.ब प्रमुखको कार्यालयबाट आफ्नै कार्यालयमा सरुवा गराए।
मनभित्रको वेदना सहन नसकेर उनी महानगर प्रहरीका सई लोकनाथ चुडाल कहाँ गइन्। चुडालले उनको पीडामा सहानुभूति प्रकट गरी उनलाई तत्काल प्रशासनमा लैंगिक हिंसाविरुद्धको निवेदन पेश गर्न सुझाव दिए। सई चुडालले दिएको सुझावपछि हिम्मत जुटाउँदै आफूमाथि भएको दुर्व्यवहारविरुद्ध कलम उचालिन्।
मंसिर ९ मा उनले प्रमुख प्रशासकीय अधिकृतलाई न्यायको माग गर्दै निवेदन लेखिन्। तर, उनको निवेदन लुकाउने कामबाहेक अरु केही भएको छैन।
प्रशासकीय अधिकृत बसन्त अधिकारी गंगाको निवेदनको बारेमा जानकार नभएको बताउँछन्। राजु पाण्डेले पनि निवेदनको बारेमा केही जानकारी नभएकाे दाबी गर्छन्।
स्वीकृत भएको निवेदन नं. १२५८ अहिले गुमनाम छ। महानगरपालिकाको सम्बन्धित अधिकारीहरु पनि गंगाको पीडादायी निवेदनको बारेमा बोल्न चाहँदैनन्। सई लोकनाथ चुडाल भन्छन्,‘के एसपी हुँदैमा राजा हुने हो र ? एउटी महिलामाथि लैंगिक हिंसा भएको छ, त्यो नानीले न्याय कहिले पाउने ? सडकमा मात्र सिङ्घम भएर हुन्छ ? यस्ता आपराधिक मानसिकता भएका प्रहरी प्रमुखसँग कसरी काम गर्ने ?’
यसरी आफ्नै कार्यालयका कर्मचारीमा एसपी पाण्डेले ज्यादती गरेकाे खुलासा भएसँगै उनी शंकाकाे घेरामा परेकाे छन्। आम नागरिकलाई न्याय दिनुपर्ने निकायले नै यस्ता अमानवीय व्यवहार देखाउँदा उनीबाट के आश गर्ने ? यस्ताे खालकाे प्रशासनबाट कसरी पाउलान् काठमाडाैँका नागरिकले सन्तुलित कार्य सम्पादन अहिले सबैकाे मनमा प्रश्न उब्जिएकाे छ।
गंगा उप्रेतीले महानगरमा बुझाएकाे निवेदन:
Yasta kukura harulae jagira bat nikalni parchha sutkeri vako mahila mathi yasto harkata